काठमाडौं । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वनयमा ल्याएको छ। मापदण्ड उल्लंघन गरी दूध बेचे निर्देशिका र खाद्य ऐनअनुसार सजाय हुनेछ।
गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना वा दुवै सजाय हुने विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए। निर्देशिकाको मापदण्ड पूरा नगरे खाद्य ऐनअनुसार कारबाही हुनेछ। विभागले पहिलोपटक निर्देशिका ल्याएको हो। ‘निर्देशिका कार्यान्वयनमा आए पनि ६ महिनासम्म अभिमुखीकरण र सचेतनाका लागि समय दिएका छौं,’ कर्णले भने, ‘६ महिनामा पनि सुधार नआए निर्देशिकाअनुसार हदैसम्मको कार्बाही हुन्छ।’ विभागले मुलुकका प्रमुख सहरका दुग्ध डेरीलाई अभिमुखीकरण गर्ने जनाएको छ।
शिशुदेखि वृद्धवृद्धासम्म सबैले उपभोग गर्ने दूधमा मापदण्ड नहुँदा उत्पादक तथा बिक्रेताले जथाभाबी गर्दै आएका थिए। विगतमा दूधमा सोडा, कोलिफर्म भेटिएको थियो। कोलिफर्म मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। दूध उत्पादनदेखि उपभोक्तासम्म पु-याउन मापदण्ड तोकिएको कर्णले बताए। किसानदेखि बिक्रेतासम्म सबैको दायित्व तोकिएको छ। ‘निर्देशिकाले दूध बजारलाई व्यवस्थित बनाउँदै सबै पक्षलाई जवाफदेही बनाएको छ,’ कर्णले भने, ‘अब उपभोक्ताले गुणस्तरीय दूध उपभोग गर्न पाउनेछन्।’
मापदण्डले दूधमा पानीलगायत अन्य कुनै पनि पदार्थ मिसाउन रोक लगाएको छ। निर्देशिकाले दूध गोठदेखि संकलन र प्रशोधन केन्द्रसम्म पु-याउने समयसीमा र मापदण्ड तोकेको छ। उत्पादित दूध संकलन केन्द्र÷चिस्यान केन्द्र वा प्रशोधन कारखानासम्म दुई घन्टाभित्र पु-याउनु पर्नेछ। संकलन केन्द्रले अल्कोहल, सिबिओ, सुगर, एसिडिटी टेस्टलगायत मिसावटको जाँच गरी स्वच्छ र गुणस्तरीय भएको यकिन भएपछि मात्र किसानबाट दूध किन्नुपर्ने प्रावधान राखिएको छ। बिहान दुहेको दूध बिहानै र बेलुकाको दूध बेलुका नै संकलन गर्ने व्यवस्था मिलाउनुपर्ने छ। ‘संकलन केन्द्रमा दूध ढुवानीका लागि प्रयोग गरिएका भाँडा सफा राख्न पर्याप्त पानीको व्यवस्था गर्नुपर्नेछ,’ निर्देशिकामा लेखिएको छ, ‘उपचारका क्रममा रहेका पशुबाट उत्पादित दूध पशु चिकित्सकको सिफारिसमामात्र संकलन केन्द्रमा पठाउनुपर्ने छ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ पुस २०७५, ०८ : १७
लेखकबाट थप