काठमाडौँ । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको निर्णयप्रति जेनजी अभियन्ता भावना राउतले असहमति जनाएकी छिन्। शुक्रबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले वास्तविक सुकुम्बासी र 'हुकुम्बासी'बीचको भिन्नता नछुट्याई डोजर चलाउनु अन्यायपूर्ण भएको तर्क गरेकी हुन्।
भावनाले ५०–६० प्रतिशत मानिस नक्कली सुकुम्बासी हुनसक्ने स्वीकार गर्दै भनिन्, 'बाँकी रहेका वास्तविक सुकुम्बासीमाथिको अन्याय के गर्ने ? अनि त्यसकै आडमा वास्तविक भूमिहीनमाथि डोजर चलाउने अधिकार कसले दियो ?'
उनले 'हुनेखाने' र 'वास्तविक भूमिहीन' छुट्याउनका लागि एउटा अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेकी छिन् । कसैको सन्तानको छातीमा डोजर चलाउनुअघि राज्यले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उनको भनाइ छ।
विभिन्न कालखण्डमा सुकुम्बासीलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको सत्य भए पनि त्यसको सजाय गरिब जनताले भोग्न नहुने उनले उल्लेख गरिन् । प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै उनले भनिन्, 'भोट माग्दा बोलेका शब्दको मान राख्नुस् । आशा गरेर मत दिएका मान्छेको आशा जोगाइदिनुस्।'
राउतले विकासका नाममा कसैको गाँस खोस्नुलाई क्रान्ति मान्न नसकिने समेत बताएकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, ०८ : ०४
लेखकबाट थप