स्ट्रेट अफ हर्मुज तत्काल नखुल्ने इरानको घोषणा, दुई विदेशी जहाज नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, १० बैशाख २०८३, ०८ : १०
स्ट्रेट अफ हर्मुज तत्काल नखुल्ने इरानको घोषणा, दुई विदेशी जहाज नियन्त्रणमा

एजेन्सी । इरानले अमेरिका र इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज  तत्काल नखोलिने स्पष्ट पारेको छ।

इरानका मुख्य वार्ताकार मोहम्मद बगेर घालिबाफले अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नौसैनिक नाकाबन्दीलाई 'विश्व अर्थतन्त्रलाई बन्धक बनाएको' संज्ञा दिँदै स्ट्रेट अफ हर्मुज  खोल्न नसकिने बताएका हुन्।

यसैबीच, इरानी सेनाले नियम उल्लंघन गरेको भन्दै स्ट्रेट अफ हर्मुजबाट दुईवटा कार्गो जहाज— 'एमएससी फ्रान्सेस्का' र 'एपामिनोन्डास'लाई नियन्त्रणमा लिएको छ। 

अर्को एक यूएईको जहाजमाथि पनि आक्रमण भएको विवरण सार्वजनिक भएको छ। इरानले यी जहाजहरूले नेभिगेसन प्रणालीमा अवरोध पुर्‍याएको र गोप्य रूपमा जलसन्धि पार गर्न खोजेको दाबी गरेको छ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याएका छन्।ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प इरानमाथि जारी नौसैनिक नाकाबन्दीबाट सन्तुष्ट रहेको र इरान हाल निकै कमजोर अवस्थामा पुगेको दाबी गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस