जनप्रतिनिधिका लागि आचारसंहिता

पत्रपत्रिकाबाट

आइतबार, ०८ पुस २०७५, ०९ : ५२
जनप्रतिनिधिका लागि आचारसंहिता

काठमाडौं । भरतपुर महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूका लागि आचारसंहिता बनाइएको छ । आचारसंहिता शनिबारको कार्यपालिका बैठकमा पेस भएको छ । कार्यपालिकाले अनुमोदन गरेपछि १० पुसमा बस्ने तेस्रो नगरसभाबाट पारित हुने महानगरका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले बताए ।

आचारसंहितामा कुनै पनि जनप्रतिनिधि र तिनको परिवारका सदस्यले ठेक्कापट्टामा भाग लिन नपाउने, दान–दक्षिणा र उपहार लिन नपाउने, कार्यालय समयमा मद्यपान तथा धूम्रपान गर्न नपाइनेजस्ता विषय समेटिएको छ ।

वडा सदस्यको अनुगमन वडाध्यक्षले, वडाध्यक्ष, कार्यपालिका सदस्य र उपमेयरको अनुगमन मेयरले र मेयरको अनुगमन कार्यपालिका बोर्डले गर्ने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिताको मस्यौदाअनुसार अब कुनै पनि जनप्रतिनिधि र उनको परिवारले सम्बन्धित वडामा हुने ठेक्कापट्टाको काममा सहभागिता जनाउन पाउने छैनन् । भरतपुर महानगरमा केही वडाध्यक्ष जिल्लामा नाम चलेकै ठेकेदार छन् । उनीहरूका लागि आचारसंहिता पेचिलो बनेको छ । साथै वडामा गठन हुने उपभोक्ता समितिमा पनि बस्न नपाइने गरी नियम बनाइएको छ ।

प्रवक्ता भण्डारीका अनुसार सुशासन र मुस्कानसहितको सेवामा संहिता केन्द्रित छ । जनताको सेवक भएका हिसाबले जनताप्रति बढी उत्तरदायी हुनुपर्ने भन्दै आचारसंहिता तयार पारिएको उनले बताए ।

मेयर रेणु दाहालले जनप्रतिनिधिलाई नैतिवान् र चरित्रवान् बनाउन तथा जनता र समाजप्रति उत्तरदायी बनाउन आचारसंहिता तयार पारेको बताइन् । ‘कोही गलत भएर नियम तयार पारिएको होइन,’ उनले भनिन्, ‘थप जिम्मेवार र सचेत बनाउन मात्र आचारसंहिता ल्याइएको हो ।’

कर्मचारी आचारसंहिता ०७४ कार्यपालिकाबाट पारित भइसकेको छ । महानगरले ०७४ वैशाखदेखि हालसम्म ३० वटा ऐन, नियम, कार्यविधि, आचारसंहिता निर्माण गरिसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस