प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०८२, ०८ : १४
प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो ।

यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारीहुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पुर्याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

प्रतिक्रिया दिनुहोस