विनोद भण्डारीको शतकको मदतमा आर्मीले सुदूरपश्चिमलाई हरायो

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, १५ : १७
विनोद भण्डारीको शतकको मदतमा आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौँ। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको हो। आर्मीको जितमा कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्।

सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमै तीन विकेट गुमाएर भेट्टायो। कप्तान विनोद भण्डारीले शतक प्रहार गरे। ७५ बल खेलेका उनले १२ चौका र ५ छक्का प्रहार गर्दै १०० रन जोडे। यस्तै, कुशल मल्लले अविजित २६ तथा भीम सार्कीले १६ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले दुई तथा मिलन बोहराले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम ३८.१ ओभरमा १५० रनमा अलआउट भयो। नारायण जोशीले ६३ रन बनाउँदा अभिषेक पालले २४, खडक बोहराले १३ तथा अशोक धामीले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ आर्मीका बसिर अहमदले पाँच विकेट लिँदा नरेन साउद र शाहब आलमले दुई-दुई विकेट लिए भने आकाश चन्दले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस