काठमाडौँ । हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा सञ्चालनमा रोकावट आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमकोटका अनुसार मंगलबारदेखि खराब मौसमका कारण उडानहरू नियमित रूपमा सञ्चालन हुन सकेका छैनन्।
नेपाल एयरलाइन्सले मंगलबार र बुधबार उडान तालिका तयार गरेको भए पनि मौसम प्रतिकुल हुँदा उडानहरू स्थगित भएका हुन्। बिहीबारसम्म पनि वर्षा र हिमपात जारी रहँदा उडान सञ्चालन हुने सम्भावना न्यून रहेको प्राधिकरणले जनाएको छ।
हवाई सेवा अवरुद्ध भएपछि सिमकोट-नेपालगन्ज मार्गका यात्रु प्रभावित भएका छन्। विशेष गरी स्वास्थ्य संस्थाहरूले रिफर गरेका बिरामीहरू असुविधामा परेका छन्। प्राधिकरणका एक अधिकारीले बताएअनुसार, मौसम प्रतिकुलता र नेपालगन्जमा निजी एयरलाइन्सका जहाजहरूको सीमित उपलब्धताका कारण आगामी सोमबारसम्म नियमित उडान सञ्चालन हुने सम्भावना कम छ।
गत सोमबार मात्रै नेपाल एयरलाइन्सको एउटा उडान हुम्लामा सफलतापूर्वक सञ्चालन भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०८२, १३ : ४१
लेखकबाट थप