आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०८२, ११ : ३९
आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौँ । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाबाट निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा समग्र देशभरी कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष सञ्चालन हुने भूपू सैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभवहरू साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकहरूबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारको लागि थप राय सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बनाए ।

भूपू सैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पुर्याउनुभएको सेवा र समर्पणको यथोचित सम्मान पनि हो ।

भूपू सैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपू सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नुका साथै भूपू सैनिक तथा एकल महिलाहरू र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्त्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस