५४ वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला: नासाको आर्टेमिस-२ मिसनको सफल प्रक्षेपण

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, ०७ : २१
५४ वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला: नासाको आर्टेमिस-२ मिसनको सफल प्रक्षेपण

एजेन्सी । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट नासाले आफ्नो ऐतिहासिक 'आर्टेमिस-२' मिसनको सफल प्रक्षेपण गरेको छ। करिब ५४ वर्षको लामो अन्तरालपछि मानवसहितको अन्तरिक्ष यान पुनः चन्द्रमातर्फ प्रस्थान गरेको हो, जसले अन्तरिक्ष अन्वेषणको इतिहासमा नयाँ अध्याय थपेको बीबीसीले जनाएको छ । 

शक्तिशाली एसएलएस रकेटमार्फत ओरियन स्पेसक्राफ्टमा चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको १० दिने यात्रामा निस्किएका छन्। यस टोलीको नेतृत्व कमाण्डर रिड वाइजम्यानले गरिरहेका छन् भने मिसन स्पेसलिस्ट जेरेमी ह्यान्सेन चन्द्रमातर्फ उड्ने पहिलो क्यानेडियन अन्तरिक्ष यात्री बनेका छन्। 

प्रक्षेपणका क्रममा केही प्राविधिक चुनौतीहरू देखिएका थिए। विशेषगरी सञ्चार प्रणालीमा अवरोध र रकेटको ब्याट्रीमा समस्या देखिएपछि उडान केही समय अनिश्चित बनेको थियो। तर, नासाका इन्जिनियरहरूले ती समस्यालाई छोटो समयमै समाधान गरेपछि 'गो फर लन्च' को अनुमति दिइएको थियो।

अन्तरिक्ष यान पृथ्वीको कक्षमा पुगेपछि यसको सोलार एरे सफलतापूर्वक खुलेको छ जसले यानलाई ऊर्जा प्रदान गर्नेछ। यात्राका क्रममा अन्तरिक्ष यात्रीहरूले एउटा दुर्लभ अवसरको रूपमा खण्डग्रास सूर्य ग्रहण समेत देख्न पाउनेछन्। नासाका प्रशासक जेरेड आइज्याकम्यानले यो मिसनलाई मानवताको साझा उपलब्धि भन्दै अन्तरिक्षमा चीनसँगको प्रतिस्पर्धाले नयाँ प्रविधिका लागि सकारात्मक ऊर्जा थपेको बताए । 

यो १० दिने यात्राका क्रममा ओरियन यानले चन्द्रमाको परिक्रमा गरी पृथ्वीतर्फ फर्कनेछ। यस यानले पृथ्वीबाट करिब २ लाख ३० हजार माइल टाढा पुगेर चन्द्रमाको पछाडिको भागको फन्को लगाउनेछ। यात्राको अन्तिम चरणमा यो यान तीव्र गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरी प्यारासुटका माध्यमबाट प्रशान्त महासागरमा अवतरण गर्ने तालिका रहेको छ।

हाल अन्तरिक्ष यात्रीहरू सुरक्षित र उत्साहित रहेको नासाले जनाएको छ। उनीहरूले अन्तरिक्षबाट अष्ट्रेलिया लगायतका क्षेत्रको अद्भुत दृश्य देख्न सफल भएको बताएका छन्। बीचमा यानको शौचालयमा सामान्य चेतावनी लाइट बलेका कारण केही समस्या देखिए पनि ग्राउण्ड टोलीले त्यसको समाधानका लागि काम गरिरहेको छ। यो मिसन सफल भएमा आगामी वर्षहरूमा मानिसलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने बाटो खुल्ने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस