मनसुन शुरु हुनुअघि नै कुमारी घरको छानो जिर्णोद्धार गरिसक्न निर्माण पक्षलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०८२, १५ : ५२
मनसुन शुरु हुनुअघि नै कुमारी घरको छानो जिर्णोद्धार गरिसक्न निर्माण पक्षलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मनसुन शुरु हुनुअघि कुमारी वहाल (कुमारी घर)को छानो जिर्णोद्धार गरिसक्न निर्देशन दिनुभएको छ । 

बिहीवार वसन्तपुरस्थित कुमारी घरको छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएको बताउनु भयो । उहाँले कुमारी वहाल काठमाडौंको अनुहार समेत भएको उल्लेख गर्र्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताउनु भयो । गत बर्खायामबाट कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २ गते समिति गठन भएको थियो । कार्यवाहक प्रमुख डंगोलले जीर्णोद्धार कार्य सम्पन्न भइसकेपछि थप सामाजिक तथा धार्मिक कार्य अगाडि बढाइने जानकारी समेत बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज हामीले जसले यो कन्ट्र्याक्टमा काम गर्दै हुनुहुन्छ उहाँसँग बसेर जतिसक्दो छिटो अझ मनसुन आउनुभन्दा अगाडि कसरी सम्पन्न गर्न सकिन्छ भनेर छलफलको लागि पनि आज आएका हौँ । महानगरबाट गर्नुपर्ने सहयोगमा कुनैपनि कसुर बाँकी नराख्ने तथा यो सांस्कृतिक तथा धार्मिक रुपले पनि एकदमै महत्वपूर्ण ठाउँ भएको कारण यसमा धार्मिक तथा प्रशासनिक रुपमा पनि हामी काम अगाडि बढाउने छौँ ।’

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जिर्णोद्धारको काम शुरु भएको थियो । कार्यवाहक प्रमुख डंगोलले न्यूरोडस्थित महानगरको वरुणयन्त्र कार्यालयको पनि अनुगमन गर्नुभएको छ । कार्यालयको पुनर्निर्माण समयमै सम्पन्न गर्न उहाँले निर्माण पक्षलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस