ओलीलाई पार्टी नेतृत्व छोड्न दवाव

सफल खबर संवाददाता

आइतबार, २४ फागुन २०८२, ०८ : ५९
ओलीलाई पार्टी नेतृत्व छोड्न दवाव

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको नतिजाले नेकपा एमालेभित्र अध्यक्ष केपी ओलीलाई अब नेतृत्व छोड्न फेरि दवाव बढ्न थालेको छ । तीन पटक प्रधानमन्त्री र ६ पटक संसदीय चुनाव जितेका ओली आफु मात्रै होइन, चुनावमा गएका पार्टीका कुनै पनि पदाधिकारीलाई जिताउन नसकेपछि ओली प्रेसरमा परेका छन् । 

 

एमाले २०४८ साल यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेपछि अध्यक्ष ओलीमाथि नेतृत्व छोड्नुपर्ने दबाब तीव्र रूपमा बढ्न थालेको छ। पार्टीभित्रका नेता–कार्यकर्तादेखि बुद्धिजीवी र राजनीतिक विश्लेषकसम्मले अब नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गर्न थालेका छन्।

झण्डै साँढे ६ लाख संगठित सदस्य बनाएको बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई आफ्नै संगठित सदस्यले समेत यसपटकको चुनावमा विश्वास गर्न नसकेको प्रष्ट चुनावी रुझानले देखाएको छ । जसकाकारण पनि अब ओलीबाट नेतृत्व सम्भव नहुने टिप्पणी सुरु भएको छ । 

गत भदौंको जेनजी विद्रोहपछि पनि एमालेमा ओलीको नेतृत्व अब कामयावी हुन नसक्ने केही नेताहरुले झिनो आवाज उठाएका थिए । तर ओलीको पार्टीभित्रको दवदवाका कारण त्यस्ता आवाज उठाउने नेताहरुको कुनै जोडबल चलेन । 

पार्टी ओलीकै दम्भ, अहंकार र घमन्डका कारण गम्भिर संकटमा परेको निर्वाचन परिणामले देखाईदिएको छ । गत भदौंको जेनजी विद्रोहका बेला ओली कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व (प्रधानमन्त्री) मा थिए । उक्त आन्दोलनका क्रममा मारिएका कलिला बालबालिकाका विषयमा पनि ओलीले अहिलेसम्म सार्वजनिक रुपमा माफीसम्म माग्न चाहेनन् । जसले पनि एमालेलाई चुनावमा धक्का लागेको छ । 

 

चुनावी परिणाममा धक्का लागेपछि २०६४ मा तत्कालिन नेतृत्व माधव नेपालले पार्टी नेतृत्वबाट राजीनामा दिएको विषय स्मरण गराउँदै ओलीलाई अब नेतृत्व छोडाउनुपर्ने आवाज एमालेमा उठेको छ । उनकै पदाधिकारीहरुले नै अहिले ओलीको नेतृत्व, कार्यशैली लगायत सबै विषयमा गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताउन थालेका छन् । 

गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि पनि ओलीले आफ्नो अहंकार त्याग्न सकेनन । उनको दम्भकै कारण एमाले मात्र होइन, समकालिन राजनीतिक दल सबैलाई उनले गल्यामगुरलुम ढलाईदिए । 

त्यसपछि उनले विधा भण्डारीलाई पार्टीमा आउन रोक लगाउन अनेक खेल खेले । भलै राष्टपति भईसकेको ब्यक्ति राजनीतिमा आउन हुने⁄ नहुने आफनो ठाँउमा छ । तर उनीमाथी ओलीले खेलेको सकुनी पासा उदेक लाग्दो नै थियो । 

पार्टी विधान नै बदलेर तेस्रोपटक एमाले अध्यक्ष बन्न पनि ओलीले जेनजी विद्रोहलाई ‘विदेशी षडयन्त्र’ भन्ने भाष्य स्थापित गरेका थिए ।

ओलीले जेनजी आन्दोलनका शहीदका परिवार र घाइतेप्रति सामान्य सम्बोधन समेत जरुरी ठानेका थिएनन् । बरू अरु दलका नेतहरुलाई समेत जेनजी आन्दोलनका विरुद्ध उभिने वातावरण निर्माण गरेका थिए । 

कक्षा नदोहोर्‍याउने, पार्टीको लोकतान्त्रिकरण गर्ने र पुस्तान्तरणको एजेण्डा लिएर एमाले अध्यक्षमा निर्वाचित ओलीले आफू अध्यक्ष रहिरहनु पार्टी विधानकै संशोधन गर्नेदेखि फरक मत राख्ने नेताहरु निस्कासन गर्नेसम्मको नीति अख्तियार गरेका थिए ।

‘नेतृत्वबाट भएका गल्तीहरु सच्याउनुपर्छभन्दा ओली बिनाको एमाले असम्भव भन्ने नारा लगाउन लगाइएको थियो । ओलीका गल्तीहरूलाई नै पार्टीको नीति हो भन्न थालिएको थियो,’ एमालेका एक नेताले भने, ‘अब यो चुनावले ओलीले नेतृत्वबाट बिदा लिनुपर्छ भन्ने प्रष्ट सन्देश एमालेलाई दिएको छ । 

२०७४ मा एमाले –माओवादी मिलेर बाम गठबन्धन गरेर झण्डै दुई तिहाई मत पनि ल्याए । ओली प्रधानमन्त्री बने, तर त्यो गठबन्धन टिकाउन पनि सकेनन । न एकता भईसकेको कम्युनिष्ट पार्टी जोगाउन सके । 

 

भुटानी शरणार्थी प्रकरण देखि ललिता निवास जग्गा प्रकरण, बाँसबारी जग्गा जस्ता भष्टाचारका फाइल खोलेर अगाडी बढिरहेको प्रचण्ड नेतृत्वको सरकार ढाल्न उनले तत्कालिन कांग्रेस सभापति शेरवहादुर देउवासँग मिलेर आधा– आधा कार्यकाल सरकार चलाउने निर्णय लिए । झण्डै दुई तिहाईको सरकारको नेतृत्व फेरि पनि ओलीले गर्ने मौकापाए । तर त्यसलाई पनि ओलीले टिकाउन सकेनन ।  

उनले पार्टीभित्रै उनका आलोचकहरुलाइृ ठेगान लगाउने काम मात्र गरे । आलोचक नेताहरुलाई चुनावै जित्ने आधार नदेखिएको भन्दै टिकट नै काटिदिए । तर अहिलेको चुनावमा उनी आफैं लज्जाजनक तरिकाले पराजित भए । उनी मात्रै होइन, चुनावमा होमिएका एमालेका सबै पदाधिकारी पराजित भए । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भटट, रघुविर महासेठ, सचिवहरु महेश बस्नेत, भानुभक्त ढकाल लगायत सबै पदाधिकारी पराजित भए ।  

 

अब नैतिक रुपमा पनि नेतृत्वका कारण ओलीले पार्टी नेतृत्व् छोडिदिनुपर्ने र नयाँ शिराबाट पार्टी अगाडी बढाउनुपर्ने दवाव एमालेमा छ । यसको संकेत उनकै उपाध्यक्ष विष्णु पौडेलले पनि गरेका छन् । 

पौडेलले पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने आवाज चौतर्फीरुपमा उठेको संकेत गरेका छन् । ‘अब हामी राष्ट्र र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनका तरिकाबारे छिटै बैठक बसेर उपयुक्त निर्णय गर्नेछौं ।’ उपाध्यक्ष विष्णु पौडेलले भने । 

पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई थियो ।

यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभएको र पार्टी जिम्मेवारीमा रहेका नेताहरुले लिएका निर्णय नै मुख्य कारण भएको पौडेलको बुझाई देखिन्छ । 

 

उनीमात्रै होइन, चुनावमा पराजित भएपछि पृथ्वीसुब्बा गुरुङ लगायत अन्य उपाध्यक्ष र पदाधिकारीबाटै पनि ओलीको अब विकल्पका बारेमा छलफल थालिनुपर्ने आवाज आउन थालेको छ । तर ओलीले अब के गर्छन् ? अहिलेसम्म खुलेको छैन । 

यसबारेमा ओली मौन बसेका छन् । बरु उनलाई भेट्न पुगेका नेताहरुलाई अब एमाले नेताहरुलाई अब एमाले नेताहरुमाथी थप धरपकड बढ्न सक्ने र त्यसको प्रतिवाद गर्न तयार हुनुपर्ने अवस्था आउन सक्ने तिर ओलीले विषय विषयान्तर गर्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस