मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति

मंगलबार, ०३ पुस २०७५, ११ : ०६
मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ । 
मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । जीप चालकले दिएको क्षतिपूर्तिबापतको रकमले दुर्घटनास्थलमा पत्रकार पराजुलीको स्मारक बनाइने उहाँको परिवारले जनाएको छ । पच्चीस वर्षीय पराजुली धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर एवं एभीन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्थ्यो । 

बा३च २८७ नं को ल्याण्ड क्रुजर दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारी, टे«ड युनियन काङ्गे्रसका प्रदेश नं ३ का संयोजक विनोद कार्कीसमेतको मृत्यु भएको थियो । जीप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि मङ्सिर पहिलो साता कारागार चलान गरिएको छ । गम्भीर घाइते पूर्व प्रहरी नायब उपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस