काठमाडौं । ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो’, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् ।
जनकपुरधाम–जहाँ प्रत्येक गल्लीमा कथा छ, प्रत्येक मन्दिरमा स्मृति छ, प्रत्येक आँगनमा अरिपनको रेखा छ र प्रत्येक आवाजमा मैथिलीको मिठास छ । यही सहरमा विगत १० वर्षदेखि एउटा महोत्सव हुँदै आएको छ– जनकपुरधाम साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव । हरेक दुई वर्षमा हुने यो महोत्सवको पाँचौँ शृङ्खला हालै (फागुन ५–८) सम्पन्न भएको छ ।
यसपटक पनि रङ्गमञ्चको उज्यालो, लोकगीतको लय र बहसको तापमा मैथिली सभ्यताको सांस्कृतिक पुनर्जागरणका स्वर गुञ्जिए । यो महोत्सव मैथिली विकास कोषको आयोजनामा २०७३ सालदेखि निरन्तर हुँदै आएको छ ।
पाँचौँ संस्करणसम्म आइपुग्दा यसले एउटा स्पष्ट सन्देश स्थापित गरेको छ- मैथिली राष्ट्रियताले केवल भावना खोजेको छैनस यसले सांस्कृतिक चेतनाको सुसङ्गठित पुनर्जागरण खोजेको छ। पछिल्लो समय यो महोत्सव मैथिली राष्ट्रियताको सांस्कृतिक पुनर्जागरणका लागि ऊर्जा भर्ने एक साझा मञ्चका रूपमा विकास हुँदै गएको छ । महोत्सवले जीवित सङ्ग्रहालय र चिन्तनको पाठशालाका रूपमा चिनिँदै आएको जनकपुरको सभ्यतालाई पुनर्ताजगी गर्न योगदान पुगिरहेको जानकारहरू बताउँछन् ।
यही सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कर्णले भनेका थिए, ‘साहित्य, कला र नाटक कुनै पनि समाजको सभ्यताका प्रमाण हुन् । यिनले मानव हृदयलाई जोड्ने पुलको काम गर्छन् । नाटकले समाजको यथार्थ बोल्छ, साहित्यले चेतना भर्छ र कलाले सभ्यतालाई रङ्गाउँछ । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवले मधेसको मौलिक संस्कृति, अनुभूति र पर्यटनको सम्भावनालाई विश्वसम्म पुर्याउन जुन योगदान गर्दै आएको छ, त्यो प्रशंसनीय छ ।’
उहाँको यो कथनले महोत्सवको सार र जनकपुरको सांस्कृतिक आयामलाई सटीक रूपमा समेट्छ । वास्तवमा, मिथिलाको सांस्कृतिक धरातलमा उभिएको जनकपुर नाट्य महोत्सव केवल साङ्गीतिक वा रङ्गमञ्चीय कार्यक्रम होइन यो पहिचान, इतिहास र समकालीन चेतनाको समागम हो ।
जनकपुरधाम : सभ्यताको जीवित पाठशाला
प्राचीन विदेहको प्रज्ञा, माता जानकीको पवित्र पदचाप र मिथिलाको अनन्य वैभव बोकेको जनकपुरधाम धार्मिक आस्थाको केन्द्रमात्र होइन, यो बहुपरम्परा, बहुभाषिकता र बहुसांस्कृतिक सहअस्तित्वको जीवन्त अभ्यासस्थल हो । यही ऐतिहासिक भूमिमा मैथिली विकास कोषले विगत एक दशकदेखि प्रत्येक दुई वर्षमा नाट्य महोत्सव आयोजना गर्दै आएको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवको उद्देश्य उत्सव मनाउनुमात्र होइन, यहाँको वैभवशाली संस्कृतिको उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ध्यानाकर्षण गर्नु हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, ०९ : ३२
लेखकबाट थप