कास्की । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाईसमेत प्राथमिकताका साथ अघि बढाइएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन लगायतका निकायहरुले चुनावलाई प्राथमिकतामा राखेर तयारीका कामलाई तीव्रता दिएका हुन् ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई हजार १९० जना कर्मचारी खटाइने भएको छ । यसैगरी जिल्लामा मतपत्रसहित ५२ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको र ती सामग्री छुट्टाएर राखिसकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
त्यसैगरी कर्मचारी खटनपटन अन्तिम चरणमा पुगेको र तीन वटै क्षेत्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरिएको न्यौपानेले जानकारी दिए । ‘हामीले निर्वाचनको तयारीका कामलाई अन्तिम रुप दिदैँछौँ । मतपत्र लगायतका सबै सामग्री प्राप्त भएका छन्, मतदानस्थलमा खटिने कर्मचारीको नामावली प्रकाशित गरिएको छ । सोमबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सुरु हुन्छ ।’
सूचना अधिकारी न्यौपानेले भने, ‘निर्वाचन कार्यालयले तीन समूहमा गरेर सो तालिम सञ्चालन हुने जनाएको छ ।’ निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिका अनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँचजना कर्मचारी रहनेछन् । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् ।
कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ फागुन २०८२, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण