एजेन्सी । लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबमा मंगलबार रातिदेखि विश्वव्यापी रूपमा प्राविधिक समस्या देखिएको छ। अचानक आएको यो अवरोधका कारण अमेरिका, भारत र बेलायतसहित विश्वका विभिन्न देशका लाखौं प्रयोगकर्ताहरूले युट्युब चलाउन नपाएको गुनासो गरेका छन्।
आउटेज ट्र्याकिङ वेबसाइट 'डाउनडिटेक्टर' का अनुसार, अमेरिकामा मात्रै ३ लाख २० हजारभन्दा बढी प्रयोगकर्ताले युट्युबमा समस्या आएको रिपोर्ट गरेका छन्। प्रयोगकर्ताहरूले मोबाइल एप र डेस्कटप दुवैमा भिडियो हेर्न खोज्दा Something Went Wrong भन्ने सन्देश देखाइरहेको बताएका छन्।
यो समस्या केवल भिडियो हेर्नेमा मात्र सीमित नभई लाइभ स्ट्रिमिङ र भिडियो अपलोडिङमा पनि देखिएको छ। यसले गर्दा युट्युबमा निर्भर रहेका कन्टेन्ट क्रिएटर र व्यावसायिक संस्थाहरू ठूलो मर्कामा परेका छन्।
समस्या बढेपछि युट्युबको आधिकारिक टोलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्राविधिक गडबडी भएको स्वीकार गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामीले यो समस्यालाई गम्भीरताका साथ हेरिरहेका छौँ। यद्यपि अहिलेसम्म यसको पूर्ण समाधान भइसकेको छैन, तर हाम्रा इन्जिनियरहरू यसलाई सुधार्न व्यस्त छन्। थप जानकारी प्राप्त हुनासाथ हामी प्रयोगकर्ताहरूलाई सूचित गर्नेछौँ।'
युट्युबले यो समस्या सर्भर ओभरलोडका कारण भएको हो वा कुनै सफ्टवेयर त्रुटि वा अन्य प्राविधिक कारणले हो भन्नेबारे अहिलेसम्म केही खुलाएको छैन। यसअघि पनि युट्युबमा यस्ता केही समस्या देखिए पनि यो पटकको अवरोधलाई निकै ठूलो र व्यापक मानिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ फागुन २०८२, ०८ : २७
लेखकबाट थप