राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

सफल खबर संवाददाता

आइतबार, ०३ फागुन २०८२, १२ : ३१
राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्रि फल जम्प’ मा प्रथम भएका प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो भएका हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे।

प्रतिक्रिया दिनुहोस