रामकृष्ण अधिकारी
पूर्वी रुकुम । पूर्वी रुकुम कुनै बेला खाली कागज जस्तै थियो— जहाँ इतिहास लेखिन्थ्यो, फेरि मेटिन्थ्यो । तर मेटिँदा पनि अक्षरको डोब मेटिँदैनथ्यो । आज त्यो डोब नै पूर्वी रुकुमको सामूहिक स्मृति बनेको छ ।
संविधानसभाबाट २०७२ सालमा संविधान निर्माण भएसँगै तत्कालीन रुकुम जिल्ला टुक्रिएर पूर्वी रुकुम र पश्चिमी रुकुम बनेपछि यसले कान्छो जिल्लाको मान्यता पाएको थियो । यही रुकुममा २०५१ सालअघिसम्म दलित समुदाय कसरी बाँचेका थिए होलान् ? सोच्न मात्रै पनि गाह्रो छ ।
एउटै पँधेरो, एउटै धारा, एउटै बाटो । तर मान्छे दलित र गैह–दलितमा फरक, व्यवहार फरक । पँधेरोमा दलित अगाडि परे ‘उच्च जात’का भनिएकाहरुले रिस गर्थे । दलितले पानी भरेपछि पँधेरोमा गैरदलितले धारा पखाल्थे । दलितले बनाएका सीप घरभित्र जान्थे, तर मान्छे बाहिर अलग्गै बस्नुपर्ने समय थियो त्यो ।
अझ माघे संक्रान्तिमा त झन् दलितहरुलाई तथानाम ‘गाली’ गर्ने । यो खालको विभेदको चक्र थियो । तर अहिले माथि भनिएका र सोचिएका विभेद त्यहाँ छैनन । तत्कालिन माओवादी (हालको नेपाली कम्युनिष्ट पार्टी) ले २०५२ मा सुरु गरेको ‘जनयुद्द’पछि त्यस्तो विभेद अन्त्य भएको बताउने पूर्वी रुकुममा बहुसंख्यक जनता छन् । र त्यसको श्रेय खुलेरै उनीहरु प्रचण्डलाई दिन्छन् ।
पूर्वी रुकुमको खाबाङबगरमा भेटिएका भुँमे गाँउपालिका– ३ सिमालका ६६ वर्षिय लीलाप्रसाद सुनार भन्छन् – ‘माओवादीले जनयुद्द शुरु गर्नु अगाडी सोच्नै नसकिने अवस्था थियो । दलितहरुमाथीको छुवाछुत र विभेद अचाक्ली थियो । पछि चेतना आयो । हामी पनि कम्युनिष्ट पार्टीमा लाग्यौं । जनयुद्द सुरु भएपछि संगठन बन्यो, भण्डाफोर गर्ने चेतना आयो । अहिले छुवाछुत छैन । धेरै परिवर्तन छ । यो प्रचण्डको नेतृत्वदायी देन हो ।’
तीन तहको सरकार संघ, प्रदेश र स्थानिय तहमै दलितको प्रतिनिधित्व सुनिश्चित गराउने गरी संविधानमै ब्यवस्था छ । तर पनि प्रायः तोकिएकै कोटामा मात्र दलितलाई प्रतिनिधित्व गराउने, खुल्ला प्रतिस्पर्धामा अझै आउनै नदिने सोच राजनीतिक दलहरुमा हावी छ । तर पूर्वी रुकुमका ३१ वडा मध्ये ४ वटा वडामा भने वडा अध्यक्ष नै दलितले चुनाव लडेर जितेका छन् ।
पृथ उत्तरगंगा गाँउपालिकाका ४ ओटा वडा अध्यक्ष दलित समुदायका छन् । वडा नम्बर १ मा विरमान कामी (नेकपा), २ मा जसवहादुर श्रीपाली (नेकपा), ४ मा सुरवहादुर विक (कांग्रेस) र १३ मा शिविसन सिर्पाली (एमाले) चुनावी प्रतिस्पर्धामा अन्य समुदायका उम्मेदवारलाई पराजित गदै वडा अध्यक्ष बनेका हुन् ।
दलित समुदायभित्रको गरिबी, औसत आयु, शिक्षाको अवस्था दयनिय थियो । दलितहरुलाई थिचोमिचो र हेलाहोचो गर्ने समाजमा १० वर्षे माओवादी जनयुद्दले छुवाछुत मुक्त गर्ने चेतना भरेको र अधिकार प्राप्तीको आन्दोलनमा आफैं अगाडी सर्न दिएको भरोसा र आँटले मात्रै यो प्रतिनिधित्व र अधिकारको सुनिश्चित भएको भुमेगाँउपालिका– २ क्राक्री घर भएका ७६ वर्षका श्यामसुन्दर सुनार सुनाउँछन् ।
‘हिन्दु वर्णाश्रम, त्यसको जात व्यवस्था विसं १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातजाति भनेर दलितलाई विभेद गरियो । जातीय भेदभाव एवम् समाजमा अछुतको ब्यवहार गरियो । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धर्मिक रुपमा राज्यको मूलप्रवाहबाट दलित समुदायलाई पछाडी पारिएको थियो,’ लीलाप्रसाद सुनार भन्छन्, ‘तर अहिले केही हदसम्म अधिकारप्राप्त भएको छ । छुवाछुत छैन । जनयुद्द पछि चेतना आयो । परिवर्तन भयो, मान्छे मान्छे एउटै हो, छुवाछुत अपराध हो भन्ने विषयमा मानिसमा जागरण माओवादीहरुले भर्ने काम गरे । जसकाकारण आज हामी सम्मानित भएर बस्न थालेका छौं ।’
उनको गाँउमा अहिले छोरी– चेलीहरु मागेरै विवाह गर्ने बाहेक अन्य कुनै विषयमा दलित गैरदलितका बीचमा विभेद छैन । ‘छोरीचेलीको मागी विवाह नै भने चलिसकेको छैन, कोही –कोही राजीखुसीले विवाह गर्ने चलेकै छ । तर खुसीका साथ माग्ने, दिने, जाने चलन चँही आईसकेको छैन । अरु विभेद भोग्नु अहिले परेको छैन,’ लीलाप्रसादले सुनाए ।
झण्डै ८० प्रतिशत मगर समुदायको बाहुल्य रहेको पूर्वी रुकुममा दलित समुदायको पनि उत्तिकै बसोबास छ । दलितहरुलाई थिचोमिचो गर्ने र छुवाछुत गर्नेहरुका विरुद्दको आवाज उठाउने र अधिकार दिलाउने आर्दश नेता त्यहाँका समुदायले प्रचण्डलाई नै मानेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले अझ त्यँहीका दलित अधिकारकर्मी अगुवा उपेन्द्रलाल कामीलाई समानुपातिक उम्मेदवार बनाएको छ । विगतमा त्यही जिल्लाका दलजीत श्रीपालीलाई प्रचण्डले नै मन्त्री बनाएका थिए । यसबाट पनि त्यहाँका दलितहरु प्रचण्डसँग खुशी देखिएका छन् ।
प्रचण्ड अहिले पूर्वी रुकुममा उम्मेदवार छन् । २९ माघमा पूर्वी रुकुम पुगेका उनले यसपटक फागुन १ को जनयुद्द दिवसको कार्यक्रम समेत त्यही जिल्लामै पुगेर मनाए । विगत युद्दका बेलाका चुनवाङ, लावाङ जस्ता ठाँउमा बसेका पार्टी बैठक, नेता–कार्यकर्तासँगको भेटघाट देखि अन्य स्थानमा समेत पुगेर उनी मतदाता भेटिरहेका छन् । आफ्नै उम्मेदवार हुन प्रचण्ड आईपुगेकोमा पनि त्यस भेगका मतदाता औधी खुशी देखिएका छन् ।
‘जसले हामीलाई अधिकारका बारेमा चेतना भरिदिने काम गरे, जसले दलितका अधिकारका सवालमा लड्ने बल भर्ने काम गरिदिनु भयो, उहाँ नै आज हाम्रो जनप्रतिनिधि बन्न पूर्वी रुकुम आउनु भएको छ, हामी औधि खुसी भएका छौं,’ पृथ उत्तरगंगा गाउपालिकाको मैकोटमा भेटिएका ३९ वर्षिय भोजराज कामी भन्छन्, ‘प्रचण्ड पूर्वी रुकुममा चुनाव लड्न आएपछि सबैभन्दा बढी यहाँका मगर र दलित समुदाय खुशी देखिएका छन् ।’
पूर्वी रुकुमको पृथउत्तरगंगा गाँउपालिका १० तकसेराको २०७९ को स्थानीय तह चुनावमा वडा अध्यक्ष एमालेले जितेको थियो । त्यहाँ अहिले प्रचण्डप्रतिको क्रेज बढेको छ । घरघरमा प्रचण्डको चर्चा अहिले सुनिन्छ । कांग्रेस उम्मेदवार कुसुमदेवी थापा मगरको घर पनि त्यही वडामा छ । तर उनीप्रति मानिसहरुमा विश्वास देखिन्न ।
‘कांग्रेस– एमालेका उम्मेदवारहरु प्रचण्डलाई ‘टुरिष्ट’ उम्मेदवार भनेर आरोपित गर्न चाहिरहेका छन्, तर प्रचण्ड भन्दा टुरिष्ट त कांग्रेस एमालेकै उम्मेदवार छन् ।’ तकसेरामा भेटिएका पत्रकार समेत रहेका मैत्या घर्ती प्रश्न गदैं भन्छन्, ‘कांग्रेस– एमालेका उम्मेदवारको घर जग्गा पूर्वी रुकुममा होला तर उहाँहरु यहाँ बस्नु हुन्न । वर्ष दिनमा एक दिन पनि उहाँहरुले आफनो घरमा पाइलो टेक्नुहुन्न । उहाँहरुको बसोबास काठमाडौंमै छ । घरमा ताला झन्डिएको मात्रै देखिन्छ । अनि उहाँहरु कसरी यहाँका स्थानिय उम्मेदवार हुनुभयो ?’
पूर्वी रुकुममा त्यहीका स्थानिय उम्मेदवार भनिएका भन्दा प्रचण्डलाई स्थानीय मान्नेहरु बढी देखिन्छन् । ‘प्रचण्डले पूर्वी रुकुमकै कतिपय भूगोलमा बसेर जनयुद्दको आधार तयार पार्नुभयो, जनयुद्द सुरु गर्नुभयो, चुनवाङ, लावाङ लगायतका क्षेत्रमा पार्टीका बैठकहरु नै राख्नुभयो । पुष्पकमलबाट ‘प्रचण्ड’ भएर जन्मेको नै यही हो । यही उहाँले जनयुद्दको आधारइलाका बनाएर काम गर्नुभयो ।’ सिस्ने गाँउपालिकाको रुकुमकोटमा भेटिएका ६७ वर्षिय पृथ्वीबहादुर बुढा भन्छन्, ‘प्रचण्ड नामले जन्मिएको जन्मभूमि र जनयुद्द शुरु गरेर कर्म गरेको कर्मभूमि नै पूर्वी रुकुम हो । यसैले उहाँलाई ‘टुरिष्ट’ भन्ने अधिकार प्रतिस्पर्धी उम्मेदवारलाई छैन ।’
पूर्वी रुकुमको चुनावी वातावरण बुझ्न यहाँको भूगोल बुझ्नै पर्छ । भौगोलिक रूपमा दुर्गम, विकासका हिसाबले पछाडि, र राजनीतिक प्रतिनिधित्वमा सधैं किनारामा परेको अनुभूति बोकेको जिल्ला हो । सँगैको सीमा जोडिएको पश्चिम रुकुम र रोल्पा जस्तो सशक्त राजनीतिक पहिचान पूर्वी रुकुमले पाउन सकेन । यही कारण यहाँका मतदातामा ‘हामी सधैं पछि प¥यौँ’ भन्ने गहिरो पीडाबोध छ ।
तर यही पीडाबोध यसपटक उत्साहमा रूपान्तरण हुन लागेको बुझाई उनीहरुमा देखिन्छ । कारण हो —पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वी रुकुममा दिएको उम्मेदवारी । प्रचण्डको उपस्थितिले यहाँ केवल उम्मेदवार होइन, ‘राष्ट्रिय ध्यान’ आर्कर्षित भएको अनुभूति पूर्वी रुकुमका मतदातामा देखिन्छ । अब पश्चिम रुकुम र रोल्पाको तुलनामा किनारमा बस्नु नपर्ने बुझाई पूर्वी रुकुमका मतदातामा देखिन्छ ।
‘पश्चिम रुकुममा जनार्दन शर्मा, रोल्पामा बर्षमान पुन, कृष्णवहादुर महराहरु नेता बन्नुभयो । राज्यका महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, त्यो खालको अबसर हामीले पाएनौं,’ पृथ उत्तरगंगा १४ मैकोटमा भेटिएका एक मतदाता भन्छन्, ‘हामीले राष्ट्रिय नेतालाई अब आफनो जनप्रतिनिधिका रुपमा पाउँदै छौं, या हाम्रा लागि अवसरको विषय हो, कांग्रेस एमालेले समेत प्रत्यक्षमा प्रचण्डलाई मत दिँदै हुनुहुन्छ, उहाँ भारी मतले विजयी बन्नु हुनेछ ।’
प्रचण्ड पनि पूर्वी रुकुमका मतदाताको रोल्पा र रुकुम पश्चिम जस्तो विकास हुन नसकेको चिन्तामा सहमत छन् । ‘रुकुम पश्चिम र रोल्पामा जस्तो विकास नभएको, पछि परिएको भन्ने पूर्वी रुकुमका मतदाताको बुझाई कँही न कँही सत्य नै देखिन्छ, अब त्यस्तो हुने छैन । यहाँ पनि त्यही मात्रामा विकासको गति बढ्छ,’ १ फागुनमा खावाङबजारमा भेटिएका प्रचण्डले भने ।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्दा २०६५ सालमा उज्यालो अभियान अन्तगर्त गाँउगाँउमा लघु जलविद्युत परियोजना अगाडी बढेको स्थानिय मतदाताहरु खुलेरै बताउँछन् । विद्युतका लागि अहिले राष्ट्रिय प्रशारण लाइन समेत जोडिएको छ । त्यस अतिरिक्त मध्यपहाडी लोकमार्ग निर्माणको जस पनि उनीहरु प्रचण्डलाई नै दिन्छन् । अझै पनि यहाँका केही वडाहरु सडक सञ्जालविहिन छन् । बैदेशिक रोजगारी मुख्य पेशा बनेको छ । अवैध बाटोबाट अमेरिका छिरेकाहरुको संख्या पनि छ । बढ्दो बसाईसराईको चपेटामा रुकुम पूर्व छ । तर प्रचण्डको उम्मेदवारीसँगै त्यहाँका मतदातामा ठूलो विकासको सपना समेत सँगै गाँसिएर आएको छ ।
क्राक्रि तकसेरा, मैकोट हुँदै डोल्पासम्मको सहीदमार्ग कालोपत्रे, उत्तरगंगाको तिरैतिरको भालुखाप्चे ढोरपाटन करिडोर, स्थानीय सीप, कला र उत्पादनको ब्यवसायिक विकास र बजारीकरण, जीवित संग्राहलय निर्माण लगायतमा जनताको अपेक्षा देखिन्छ ।
भुमे गाँउपालिका– ६ महतगाँउका देववहादुर बुढा प्रचण्ड प्रधानमन्त्री भएकै बेला पूर्वी रुकुमले मुहार फेर्ने केही योजना र बजेटहरु पाएको बताँउछन् । देववहादुर आफैं २०४९ सालमा महत गाविसका अध्यक्ष थिए । पछि उनी भुमे गाँउपालिका बनेपछि ६ नम्बर वडाको वडा अध्यक्ष समेत बने ।
अहिले उनी प्रचण्ड जिताउन बुढ्यौली उमेरमा पनि मतदाताका बीचमा घरदैलोमा आफैं निस्किरहेका छन् । बाल्यकालमै आमाबुबा गुमाएका, अभिभावक खोज्दै राजनीतिमा होमिएका उनी आज पनि भन्छन्, ‘राज्यले अझै हामीलाई पूर्ण रूपमा अपनाएको छैन । नुन लिन पाँच दिन हिँड्नुपर्ने समयदेखि आज मध्यपहाडी राजमार्ग बनेको समयसम्म आइपुगे पनि, समृद्धिको अनुभूति सबैसम्म पुगेको छैन । समृद्दिको अनुभूति दिलाउन पनि प्रचण्डलाई भारी मतले जिताउनै पर्छ । ’
प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा अन्य १० उम्मेदवार पनि छन् । नेपाली कांग्रेसबाट कुसुमदेवी थापामगर, एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा , प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन, मंगोल नेशनल अर्गनाइजेशनबाट ज्योति रोका मगर, राप्रपाबाट रोशन साहलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
युवाहरू रोजगारी खोज्दै जिल्ला बाहिर छन् । बाँकी रहेका वृद्ध र महिला मतदाता ‘अब के हुन्छ ?’ भन्ने प्रश्नमा छन् । उनीहरू भावनाले होइन, अनुभवले मतदान गर्न चाहन्छन् । स्थानीय सरकार बनेपछि तत्कालिन माओवादी (हालको नेकपा) को पहलमा पूर्वी रुकुममा जनसमुदायको सहभागीतामूलक योजना बनाउने प्रयास भयो । २० वर्षको प्रक्षेपणसहित भू–उपयोग योजना तयार गरियो । कृषि क्षेत्र, सिमसार क्षेत्र, बसोबास क्षेत्र छुट्याइयो । तकसेरा, कोलह र रुकुमकोटलाई पहिचानयुक्त हिमाली सहरका रूपमा विकास गर्ने अवधारणा आयो । तर ती योजना ब्यवहारतः अझै कार्यान्वयन गराउन सकिएको छैन ।
यहीँबाट मतदाताको मनोविज्ञान बुझ्न सकिन्छ । जसकाकारण पनि उनीहरु यसपटक राष्ट्रिय नेता प्रचण्डलाई नै मत दिएर जिताउने र योजना कार्यान्वयन गराउने सपना साँचेर बसेका छन् । उनीहरू परिवर्तनका पक्षमा छन्, तर अधुरो परिवर्तनबाट दिक्क छन् । योजना बन्यो, कार्यान्वयन भएन भन्ने गुनासो दलित, जनजाति, युवा र महिलाहरु सबैमा समान रूपमा सुनिन्छ ।
यसपटकको चुनावमा रोचक पक्ष के छ भने — कांग्रेस, एमालेका मतदातामा समेत ‘रणनीतिक मतदान’ को मनोविज्ञान देखिन्छ । ‘हामी त कांग्रेस–एमालेका हौँ, तर राष्ट्रिय नेता जिते जिल्लाले केही पाउँछ,’ भन्ने तर्क खुला रूपमा सुनिन थालेको छ । यो केवल दलप्रतिको मोह होइन, जिल्लाप्रतिको अपेक्षा हो ।
पूर्वी रुकुमको चुनाव अब ‘तारा, घण्टी, रुख, सूर्य’ जस्ता चुनाव चिह्नको प्रतिस्पर्धा मात्र छैन । यो त जिल्लाको पहिचान र प्राथमिकताको लडाइँ जस्तो देखिएको छ । ‘यहाँ जित भनेको सांसद मात्र होइन, पहुँच हो,’ हुकाममा भेटिएकी पूर्णिमा बुढा भन्छिन्, ‘पहिले पनि माओवादीको किल्ला हो, अहिले झन् प्रचण्ड नै आउनुभएको छ जनप्रतिनिधि बन्न । उहाँले जिते मात्र केही हुन्छ भन्ने ठूलो भरोसा मतदातामा छ । त्यही भएर विगतको माओवादीको नाम र चिन्ह्र फेरिएको छ, बुढाबुढीलाई हामी सिकाइरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड