काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बहालमा लिएका घर तथा कोठा खाली गर्नुपर्ने निर्णय भएका ८ वटा सहकारी संस्थाका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।
महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै महानगरपालिका न्यायिक समितिबाट घर/कोठा खाली गर्ने निर्णय भएका सहकारी संस्थाहरूले तोकिएको समयभित्र सम्पर्क नगरे कानुनअनुसार घर/कोठा खाली गराइने जनाएको हो ।
माघ १५ गते बसेको निर्णय कार्यान्वयन समितिको बैठकले यसबारे निर्णय गरेको थियो। सूचनामा उल्लिखित सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
तोकिएको समयभित्र सम्बन्धित सहकारीका पदाधिकारी, कर्मचारी वा सदस्य सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारीले बहालमा लिएका घर तथा कोठा खाली गरिने महानगरपालिकाले जनाएको छ । घर/कोठा खाली गरिँदा सहकारी कार्यालयका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइने र पछि सहकारीका सम्पत्ति वा सरसामानबारे कुनै दाबी–विरोध गर्न नपाइने व्यहोरा समेत सूचनामार्फत जानकारी गराइएको छ ।
महानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार आशा बचत तथा ऋण सहकारी संस्था, नव सवल/सन्दुप सहकारी, युनिफाइड बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिएका घर/कोठा खाली गर्नुपर्ने निर्णय भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
झापामा हाल ७५३ वटा सहकारी, ठुलामा पर्याप्त तरलता
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट