काठमाडौँ । अर्घाखाँची जिल्लामा एचआइभी संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भइसकेको तथ्य सार्वजनिक भएको छ। सरोकारवाला निकायका अनुसार संक्रमणबारे जानकारी बढे पनि संक्रमितप्रति समाजको व्यवहारमा अपेक्षित सुधार आउन सकेको छैन।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको संयोजनमा सन्धिखर्कमा आयोजित एचआईभीसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले एचआईभीलाई स्वास्थ्य समस्याभन्दा सामाजिक दोषका रूपमा बुझ्ने सोच अझै कायम रहेको उल्लेख गरेका छन्। सो प्रवृत्तिले संक्रमित व्यक्तिको दैनिकी, आत्मसम्मान र उपचार प्रक्रियामा नकारात्मक प्रभाव पारिरहेको बताइएको छ।
जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा जोखिम समूहलाई लक्षित गरी आयोजित कार्यक्रममा सहभागीहरूले एचआईभीबारे कानुनी, चिकित्सकीय र सामाजिक पक्षमा जानकारी भए पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनीहरूका अनुसार लाञ्छना र भेदभावका कारण संक्रमितहरू समाजबाट अलग्गिन बाध्य हुने अवस्था सिर्जना भइरहेको छ।
कार्यक्रममा सन्देश समूहकी प्रतिनिधि पार्वता केसीले प्रस्तुत गरेको तथ्यांक अनुसार अर्घाखाँचीमा हाल १ सय ४९ जना एचआइभी संक्रमित व्यक्ति जीवित रहेका छन्। तीमध्ये ७६ जना पुरुष, ७३ जना महिला र ७ जना बालबालिका रहेका छन्। उनले परिवार, समुदाय र कार्यस्थलमै संक्रमितले भोग्नुपरेको विभेद अझै अन्त्य हुन नसकेको जानकारी दिइन्।
उनका अनुसार गोपनीयता उल्लंघन, सार्वजनिक रूपमा अपमान तथा सामाजिक क्रियाकलापबाट बहिष्कार जस्ता व्यवहारका कारण संक्रमितहरू मानसिक दबाबमा पर्ने गरेका छन्। यसले उनीहरूको नियमित उपचार र स्वास्थ्य सेवामा पहुँचमा समेत असर पुर्याउने गरेको उल्लेख गरिएको छ।
कार्यक्रममा एड्स हेल्थ केयर सेन्टर बुटवलका कार्यक्रम संयोजक धर्मराज भट्टराईले एचआईभीसम्बन्धी लाञ्छना र भेदभावका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै संक्रमण सर्ने र नसर्ने विषयमा समाजमा अझै व्यापक भ्रम रहेको बताए। उनले यस्ता भ्रम हटाउन निरन्तर सचेतना र संस्थागत प्रयास आवश्यक रहेको धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १२ : ५१
लेखकबाट थप