काठमाडौँ । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने आशयका अभिव्यक्ति दिएका झापा-२ का राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले प्रहरीसमक्ष गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले चुनावी प्रचारका क्रममा सार्वजनिक गरिएको सामग्रीले समाजमा भ्रम फैलाउने र हिंसालाई प्रोत्साहन गर्ने देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ निवासी ५० वर्षीय नेपालले सामाजिक सञ्जालमा पृथ्वी नारायण शाहको विरोध गर्ने व्यक्तिविरुद्ध शारीरिक हिंसाको संकेत दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
साइबर ब्युरोका अनुसार सार्वजनिक नैतिकता, शिष्टाचार र प्रचलित कानुन विपरीतका यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । सो क्रममा नेपालले आगामी दिनमा कानुनको सम्मान गर्दै कुनै पनि गलत अर्थ लाग्ने वा उत्तेजक भनाइ नदिने प्रतिबद्धता जनाउँदै लिखित रूपमा क्षमा याचना गरेका छन् ।
प्रहरी स्रोतका अनुसार उक्त प्रतिबद्धतापछि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो
स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान