नागरिकता पाउँदा अपाङ्गता भएकी नेत्रकुमारी दङ्ग

शुक्रबार, २८ मंसिर २०७५, १३ : ४०
नागरिकता पाउँदा अपाङ्गता भएकी नेत्रकुमारी दङ्ग

पर्वत । परिवारका सदस्यको अपहेलनाका कारण नागरिकतासमेत पाउन नसकेकी अपाङ्गता भएकी नेत्रकुमारी कुँवरले नागरिकता प्रमाणपत्र पाउँदा बिहीबार निक्कै दङ्ग देखिनुभयो । 

आफूले जन्म दिएकी छोरीलेसमेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता दिलाएपछि उहाँ निक्कै खुशी हुनु भएको हो । 

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाकी ५६ वर्षीया वाक अपाङ्गता भएकी नेत्रकुमारीलाई परिवारका सदस्यको सनाखत गराएर जिल्ला प्रशासन कार्यालयले नागरिकता दिलाएको हो । नागरिकता पाउँदा निक्कै खुशी भएकी नेत्रकुमारीले अस्पष्ट आवाज र हातको इशारामा सबैलाई धन्यवाद दिनुभयो । 

विवाह भएको २९ वर्षसम्म परिवारका सदस्यले नागरिकता र अंशसमेत नदिएका कारण अपहेलना सहँदै आएकी नेत्रकुमारीको अवस्था थाहा पाएपछि प्रजिअ ढकालले जनप्रतिनिधि र परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिलाउनुभयो । “एउटा विधवा महिलाले अहिलेसम्म परिवारको अपहेलनामा नागरिकता नपाएको देखेपछि परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिएको हुँ”, प्रजिअ ढकालले भन्नुभयो, “आफैँले जन्मदिएकी छोरीले ‘चिन्दिन’ भन्ने अवस्था देखेपछि मैले नागरिकता दिलाउने अठोट लिएको हुँ ।” 

विसं २०१९ मा साविकको थापाठाना गाविस हाल पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठानामा जन्मिएकी नेत्रकुमारी कुँवर विसं २०४६ मा फलेवास नगरपालिकाकै साविकको मुडिकुवा गाविस हाल फलेवास–४ का छविलाल कुँवरसँग दोस्रो श्रीमतीका रुपमा विवाह गर्नुभएको थियो । विवाहपछि विसं २०५३ मा उनकै कोखबाट सुस्मिताको जन्म भएको थियो । उहाँका घर परिवारले सुस्मिताको जन्म भएपछि २० दिन नपुग्दै कुटपिट र गालीगलौज गरेर घर निकाला गरेका थिए । 

घर निकाला गरेपछि उनी माइतीघरमा बस्दै आएको र जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारलेसमेत बच्चालाई लुकाएका थिए । जन्मेपछि आमालाई चिन्नै नपाएकी सुस्मिताले नागरिकता दिलाउने क्रममा चिन्दिन भन्नुभएको थियो । 

छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालनपोषण गर्दै आएकी सुस्मिता र नेत्रकुमारीकी सौताले नै बिहीबार सनाखत गरिदिएका छन् । फलेबास नगरपालिकाका प्रमुख पद्मपाणि शर्मालेसमेत नागरिकता दिनका लागि सनाखत दिएपछि २९ वर्षपछि नेत्रकुमारीले अधिकार पाएकी छन् । प्रजिअ ढकालकै उपस्थितिमा नेत्रकुमारीलाई अंश दिने, उनका श्रीमान् छविलालका मृत्युका क्रममा भएको खर्च बेर्होनेलगायतका कुरामा समेत परिवारका सदस्यकाबीचमा सहमति भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस