वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०८२, २० : ०५
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन्। मंगलबार काठमाडौँमा विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भए पनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए। उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गरे। 

उनले भने, ‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईँहरू कतिपय घर फर्किँदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ। विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो। के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला। हामीले निर्वाचन आयोग पनि पुग्नु छ। हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्‍याउनु छ।’ 

शर्माले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा आउनुपर्ने स्थिति रहने बताए। 

उनले थपे, ‘तपाईँहरू कतिपय साथीलाई लाग्न सक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्न सक्छु भन्ने लाग्न सक्छ। तर तपाईंहरुलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो। सर्वसम्मत रूपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ।’

महामन्त्री शर्माले अबको राजनीतिमा जुझारुपन लिएर जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस