एजेन्सी । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । हाम्रा धेरै साथीहरू मारिएका छन् । सुरक्षाकर्मीहरूले सिधै गोली चलाइरहेका छन् । सडकहरू युद्ध मैदानजस्तै देखिएका छन् र जताततै रगत छ । उनीहरूले ट्रकमा राखेर शवहरू लगिरहेका छन् ।”
बीबीसीले तेहरान नजिकैको एक शवगृहको फुटेजमा करिब १८० वटा शव राखिएका झोला गणना गरेको छ । अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ले देशव्यापी रूपमा ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५४३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एजेन्सीका अनुसार दुई हप्ताको अशान्तिमा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परेका छन् ।
प्रदर्शनकारीको हत्यालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरान स्वतन्त्रताको खोजीमा रहेको भन्दै अमेरिका मद्दतका लागि तयार रहेको बताएका थिए ।
यद्यपि, ट्रम्पले कस्तो प्रकारको मद्दत गर्ने भन्ने स्पष्ट पारेका छैनन् । सीबीएस न्युजका अनुसार ट्रम्पलाई इरानमाथि हुन सक्ने सैन्य आक्रमणका विभिन्न विकल्पहरूबारे ब्रिफिङ दिइएको छ ।
साथै आक्रमणको थप विकल्पहरूमा अनलाइन माध्यमबाट अमेरिकाले सरकारविरोधी विषयहरूलाई प्राथमिकता दिने, इरानी सेनाविरुद्ध ‘साइबर हतियार’ प्रयोग गर्ने र थप कडा आर्थिक प्रतिबन्धहरू लगाउने बताएको छ ।
यसको जवाफमा इरानी संसद्का सभामुखले यदि, अमेरिकाले आक्रमण गरेमा यस क्षेत्रमा रहेका इजरायल र अमेरिकी सैन्य तथा ढुवानी केन्द्रहरू वैधानिक निशाना बन्ने चेतावनी दिएका छन् ।
आकासिँदो महँगीबाट सुरु भएको यो प्रदर्शन अब सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको धार्मिक शासन अन्त्यको मागमा परिणत भएको छ । इरानका महान्यायाधिवक्ताले प्रदर्शन गर्ने जोकोहीलाई ईश्वरको शत्रु मानिने र त्यसका लागि मृत्युदण्ड हुनसक्ने बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै धेरै अस्पतालका कर्मचारीहरूले मृतक र घाइते प्रदर्शनकारीहरूको संख्याले अस्पतालहरू भरिभराउ भएको बताएका छन् ।
यसैबीच, रश्त सहरमा शुक्रबार राति एउटै अस्पतालमा ७० वटा शव ल्याइएको पुष्टि भएको छ । तेहरानका एक स्वास्थ्यकर्मीका अनुसार धेरैजसो युवाको टाउको र मुटुमा सिधै गोली लागेको छ । धेरैको अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद भवनभित्र छिरे प्रदर्शनकारी
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार