'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प

एजेन्सी

बुधबार, २३ पुस २०८२, ०७ : २९
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भए पनि पछिल्लो समय उनी आफूसँग खुसी नरहेको बताएका छन् । 

भारतले रूसबाट तेल खरिद गरेको कारण अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएको विषयले मोदी असन्तुष्ट रहेको उनको भनाइ छ । समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्पले मंगलबार वाशिङ्टनमा हाउस रिपब्लिकन पार्टीका सदस्यहरूसँगको बैठकमा उक्त कुरा बताएका हुन् । 

उनले भारतले अपाचे हेलिकप्टर खरिदका लागि धेरै वर्षदेखि आफूलाई दबाब दिँदै आएको दाबी पनि गरे । ट्रम्पका अनुसार भारतले ६८ वटा अपाचे हेलिकप्टरको अर्डर दिएको छ र अहिले त्यो प्रक्रियामा परिवर्तन गरिँदैछ । “मोदीसँग मेरो सम्बन्ध निकै राम्रो छ,” ट्रम्पले भने, “अब भारतले रूसबाट तेल खरिद पनि धेरै हदसम्म घटाएको छ।”

ट्रम्पका अनुसार भारतमाथि लगाइएको कुल ५० प्रतिशत ट्यारिफमध्ये २५ प्रतिशत ‘रेसिप्रोकल ट्यारिफ’ हो भने बाँकी २५ प्रतिशत रूसबाट तेल खरिद गरेबापतको अतिरिक्त ट्यारिफ हो ।

यसअघि पनि ट्रम्पले भारतले रूसबाट तेल आयात घटाउनुको कारण आफूलाई खुसी बनाउन चाहनु रहेको दाबी गरेका थिए । “उनी मलाई खुसी बनाउन चाहन्थे । प्रधानमन्त्री मोदी राम्रो मानिस हुन् । उनलाई थाहा थियो म खुसी छैन, त्यसैले मलाई खुसी बनाउन जरुरी थियो,” ट्रम्पले भनेका थिए ।

यूक्रेन युद्धपछि भारत रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बनेको थियो । अमेरिकी अधिकारीहरूले भारतले रूसबाट तेल किनेर अप्रत्यक्ष रूपमा युक्रेनमाथि भइरहेका आक्रमणलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी सिनेटर लिन्डसे ग्राहमले करिब एक महिनाअघि भारतीय राजदूत विनय मोहन क्वात्राको निवासमा भेट भएको र त्यहाँ रूसबाट तेल आयात घटाउने विषयमा छलफल भएको दाबी गरेका छन् । उनले भारतीय राजदूतले ट्रम्पसम्म भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत ट्यारिफ हटाइदिन सन्देश पुर्‍याउन आग्रह गरेको बताए ।

रोयटर्सका अनुसार भारतले २०२१ पछि पहिलोपटक रूसबाट कच्चा तेल आयात घटाएको छ । नोभेम्बरमा दैनिक १७ लाख ७० हजार ब्यारेल रहेको आयात डिसेम्बरमा घटेर करिब १२ लाख ब्यारेलमा झरेको छ । आगामी महिनामा यो १० लाख ब्यारेलभन्दा तल झर्न सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्नु र रूसले दिँदै आएको छुट कम हुनुका साथै ढुवानी र बीमा खर्च बढेकाले भारतले पुनः साउदी अरब, युएई र अमेरिका जस्ता आपूर्तिकर्ताबाट तेल खरिद बढाउन थालेको बताइएको छ ।

अमेरिकाले लगाएको ५० प्रतिशत ट्यारिफका कारण भारतीय निर्यात प्रभावित भएको छ । यही विवाद समाधानका लागि दुई देशबीच व्यापार सम्झौतासम्बन्धी वार्ता जारी छ । भारतले कुल ट्यारिफ घटाएर १५ प्रतिशतमा सीमित गर्न र रूसी तेलका कारण लगाइएको अतिरिक्त २५ प्रतिशत पेनाल्टी पूर्ण रूपमा हटाउन माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस