‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०८२, १६ : १३
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भएको बताएका छन् ।

अर्का महामन्त्री गगनकुमार थापासँगको छलफलपछि शर्माले नियमित महाधिवेशन नहुनु भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु भएको बताएका हुन् ।

‘नियमित महाधिवेशनको ढोका बन्द हुनु भनेको विशेषको ढोका ढकढकाउनु हो,’ उनले भने, ‘ विधानको धारा १७ को उपधारा २ बमोजिम यसको कामकारबाही अघि बढ्छ । विधानको पालना गर्ने कुरा महामन्त्रीहरूको पनि हो, कार्यवाहकको पनि हो, सभापतिको पनि हो। जसरी संसद् विघटन संविधान विपरीत भयो भन्ने काँग्रेसले आफ्नो अधिवेशन पनि विधान बमोजिम नियमित पनि नगर्ने र विशेष पनि नगर्ने हुँदैन यो पनि विधान विपरीत हुन्छ ।’

शर्माले विशेष महाधिवेशनको विषयमा दुई दिनभित्र टुंगो लाग्ने पनि बताए । ‘अबको दुई दिनभित्र यसलाई कुन रूपमा गर्ने भन्ने टुंगो लगाउँछौँ’ उनले भने । सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार आज साँझ ५ बजे देउवाले दुई महामन्त्रीसँग छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस