इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च

बुधबार, २२ कार्तिक २०७४, ०९ : ४४
इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च

नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा एक सय १० जीबीको हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ विभिन्न नेटवर्क सर्भिस प्रोभाइडरमार्फत नेपालमा आएको छ । इन्टरनेटको स्पिड पनि बढ्छ ।
 

 तर इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) व्यवसायीका अनुसार नेपालमा अहिले एक सय २० देखि ३० जीबीसम्म इन्टरनेटसनल ब्यान्डविथ खपत भइरहेको छ । अहिले औसतमा एक एमबीको १५ डलर अर्थात् एक हजार पाँच सय ४५ रुपैयाँ मासिक बुझाउनुपर्ने आईएसपी संघका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । दुई वर्षअगाडि अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रत्येक महिना प्रतिएमबीपीएस ४२ डलर थियो भने अहिले यो शुल्क १५ डलरभन्दा कममा आइसकेको छ । नेपालमा खपत भइरहेको एक लाख ३० हजार एमबी इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको छ । यस हिसाबले हेर्ने हो भने मासिक २० करोडको रुपैयाँ बाहिर गइरहेको छ ।

वार्षिक रूपमा यो क्रम बढ्दै गएको आईएसपी संघका पूर्वअध्यक्ष विनय बोहोराले बताए । ‘इन्टरनेटको प्रयोग वार्षिक ठूला मात्राले बढ्दै गएकाले पनि हरेक वर्ष ब्यान्डविथको खपत नेपालममा बढेको छ', उनले भने, ‘हरेक पटक इन्टरनेटको कन्टेन्टमा फरक आउँछ ।' पहिले फेसबुकमा आफै चल्ने भिडियो सिस्टम थिएन, तर अहिले फेसबुकको भिडियो आफै चल्छ, यसले पनि ब्यान्डविथ खपत बढेको छ ।

    दुई वर्षअगाडि अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रत्येक महिना प्रतिएमबीपीएस ४२ डलर थियो भने अहिले यो शुल्क १५ डलरभन्दा कममा आइसकेको छ ।

‘जति ग्राहक बढ्दै जान्छन्, त्यहीअनुरूपले ब्यान्डविथ खपत हुने हो', नेपाल दूरसञ्चार प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘नेपालमा अहिले इन्टरनेट विस्तारको क्रममा छ । अहिले बिस्तारै कार्यालयमा इन्टरनेटको प्रयोग बढेको छ । यसरी सबै स्थानमा इन्टरनेट विस्तार हुँदा नेपालले खपत गर्ने ब्यान्डविथ पनि ठूलो मात्रामा बढ्दै जान्छ । नेपालमा अहिले नेटवर्क सर्भिस प्रोभाइडरको संख्या १५ वटा छ । त्यसमा सबैभन्दा बढी ब्यान्डविथ भित्र्याउनेमा वल्र्डलिंक कम्युनिकेसन पर्छ ।

यसले ४० जीबी ब्यान्डविथ प्रयोग गरिरहेको वल्र्डलिंकका प्रबन्ध निर्देशक तथा आईएसपी संघका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । त्यस्तै दोस्रोमा कम्युनिकेसन एन्ड कम्युनिकेसन छ । कम्पनीले ३० जीबीको हाराहारीमा ब्यान्डविथ प्रयोग गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

आगामी डेढ वर्षभित्र इन्टरनेट सेवाप्रदायकले न्यूनतम ५१२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरेनट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने प्राधिकरणका प्रवक्ता अर्यालको भनाइ छ । अहिले करिब एक हजार वा त्यसभन्दा बढी शुल्क लिएर प्रवाह गरिरहेको यो सेवालाई तीन सय ७७ रुपैयाँमा झार्नुपर्नेछ । सरकारले २०७१ चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ ।

उक्त समयसम्म प्रतिव्यक्ति आयमा कुनै सुधार आउन सकेन भने आईएसपी कम्पनीले न्यूनतम ५१२ केबीपीएसको तीन सय ७७ रुपैयाँ ग्राहकलाई प्रदान गर्नुपर्छ । यसो भएको खण्डमा अझ ब्यान्डविथको खपत उच्च हुने अनुमान लगाउन सकिने अर्यालको भनाइ छ ।
के हो ब्यान्डविथ ?

साधारण भाषामा भन्ने हो भने ब्यान्डविथ कन्टेन्ट हो । यो इन्टरनेटको स्पिड पनि हो । एउटा पाइपलाइनभित्र रहेर आउने कन्टेन्टलाई ब्याडविथ भनिन्छ । उदाहरणका लागि एउटा ठूलो बाटो छ, त्यो बाटोमा कुद्ने गाडी, बाइकलगायत सम्पूर्ण सामग्री ब्यान्डविथ हुन् । त्यस्तै इन्टरनेसनल ब्यान्डविथ भन्नाले पाइपलाइनमार्फत विश्वका हरेक क्षेत्रबाट नेपालमा आउने कन्टेन्ट हो । जस्तो हामीले गुगल, फेसबुक, ट्विटर प्रयोग गर्छौं, त्यसमा भएको कन्टेन्ट इन्टरनेसनल ब्याडविथ हो ।

प्रतिक्रिया दिनुहोस