आदित्यनाथको सुरक्षामा चार हजार सुरक्षाकर्मी

पत्रपत्रिकाबाट

बुधबार, २६ मंसिर २०७५, ०८ : ०७
आदित्यनाथको सुरक्षामा चार हजार सुरक्षाकर्मी

३० जनाको भारतीय दस्ता छुट्टै, योगी आउने विमानको परीक्षण उडानसमेत गरियो, स्वागतमा ५६ व्यञ्जन तयार हुँदै

राम र सीताको विवाहउत्सवमा बुधबार जनकपुर आउन लागेका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश २ प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालका अनुसार चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । विवाहपञ्चमीमा करिब १० लाख श्रद्धालु भक्तजन सहभागी हुने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

योगीको सुरक्षामा तीन हजार नेपाल प्रहरी, एक हजार सशस्त्र प्रहरी, एक सय राष्ट्रिय अनुसन्धानका कर्मचारी र रिजर्भमा केही संख्यामा नेपाली सेना खटाइएको छ । प्रहरीले -यापिड कम्युनिकेसन सिस्टम(आरसिएस) स्थापना गरेको पालले बताए । जानकी मन्दिर, मधेस भवन र बाह्रबिघामा आरसिएसको प्रयोग हुनेछ ।

‘ड्रोन क्यामरा’बाट पनि सुरक्षा निगरानी हुनेछ । विस्फोटक पदार्थ चेकजाँचका लागि तालिमप्राप्त तीन कुकुर खटाइएको छ । सेनाको बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ । सुरक्षा स्रोतका अनुसार योगीको सुरक्षाका लागि भारतबाट पनि २५ देखि ३० जनाको संख्यामा सुरक्षाकर्मी आएका छन् । उनका लागि नेपाल र भारत सरकारका दुईवटा बुलेटप्रुफ कार व्यवस्था गरिएको छ ।

मंगलबार योगी आउने बिई २०० विमानको जनकपुरमा अवतरण परीक्षण गरिएको थियो । तीनजना चालक दलसहित जनकपुर आएका भारतीय अधिकारीले जनकपुरस्थित विमानस्थलको रनवे, लेआउटजस्ता सुविधा अध्ययन गरेको थियो । उनीहरू सन्तुष्ट भएर फर्केको विमानस्थल प्रमुख सन्तोष ढकालले बताए । उक्त विमानले नेपाल उड्डयन प्राधिकरणबाट दुई दिनको अनुमति लिएको छ ।

समकक्षी राउतले गर्नेछन् स्वागत
मुख्यमन्त्री योगी पाँच प्रतितिधिमण्डलको नेतृत्व गरेर निजी विमानमा बिहान जनकपुरधाम आउनेछन् । उनीसँग उत्तरप्रदेश सरकारका स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंहसहित अधिकारी सहभागी हुनेछन् । जनकपुर विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभामुख सरोजकुमार यादव, वरिष्ठ मन्त्री जितेन्द्र सोनलसहित मन्त्रिपरिषद्का सबैले स्वागत गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका उपसचिव रामबाबु ढकालले शिष्टाचार मामिलाको समन्वय गर्नेछन् । बुधबार संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि योगीको स्वागतका लागि जनकपुर आउनेछन् ।
वैवाहिक कार्यक्रममा राम र सीता पक्षको प्रतिनिधित्व क्रमशः अयोध्यास्थित राम मन्दिर र जनकपुरधामस्थित जानकी मन्दिरमा महन्थले गर्नेछन् । मुख्यमन्त्री योगी जनकपुरमा ६ घन्टा बसेर अपराह्न लखनउ फर्किने कार्यक्रम छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस