५ लाख भारतीयलाई देश फर्काइदिने ट्रम्पको प्रस्ताव

एजेन्सी

शुक्रबार, २१ पुस २०७४, १९ : ३९
५ लाख भारतीयलाई देश फर्काइदिने ट्रम्पको प्रस्ताव

वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ ।

उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो ।

ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका सेटल हुने सपना छाडेर स्वदेश फर्किन बाध्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खासगरी सूचना प्रबिधि क्षेत्रमा झण्डै ५ लाख भारतीय दक्ष जनशक्तिले एचवानवी भिषामा रहेर काम गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । अर्थात् अमेरिकी ग्रिन कार्ड हात पार्ने उसको सपना बिचमै छाडेर उ स्वदेश फर्किनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस