सुडानमा भएको ड्रोन आक्रमणमा ३० जनाको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०८२, १६ : २३
सुडानमा भएको ड्रोन आक्रमणमा ३० जनाको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एएफपी । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिण पश्चिममा भएको थियो । डारफुर र कोर्डोफान क्षेत्रमा बढ्दो हिंसाका कारण नागरिकमा ज्यान हानि र क्षति तीव्र रूपमा बढ्दै गएको छ । सोही दिन नर्थ डारफुरको कुटुम सहरमा भएको अर्को आक्रमणमा पनि नागरिकको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

महासचिवले सबै नागरिक र नागरिक पूर्वाधारमाथि हुने आक्रमणको कडा निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पालना गर्न अनुरोध गरेका छन् ।

सुडानको गृहयुद्धको एक हजार दिन पुगेको अवस्थामा गुटेरेसले सबै प्रभावशाली राष्ट्रहरूलाई युद्ध तुरुन्त रोक्न र हतियार आपूर्ति बन्द गर्न पहल गर्न आग्रह गरेका छन्। साथै उनले सबै पक्षलाई तत्काल शत्रुता रोकेर वार्ता पुनः सुरु गर्न, दीर्घकालीन युद्ध विराम कायम गर्न र समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

यस द्वन्द्वमा दसौँ हजार नागरिकको मृत्यु र करोडौँ विस्थापित भएको छ, जसले विश्वकै ठूलो मानवतावादी संकटमध्ये एक सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस