राष्ट्रिय सभा चुनाव माघ २४ गतेलाई घोषणा

शुक्रबार, २१ पुस २०७४, १७ : ४६
राष्ट्रिय सभा चुनाव माघ २४ गतेलाई घोषणा

काठमाडौं । सरकारले यसअघि निर्वाचन आयोगले नै प्रस्ताव गरेको मिति माघ २४  गते राष्ट्रियसभाको निर्वाचन गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आयोगले प्रस्ताव गरेको मितिमा राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न लागेको जानकारी गराएका छन् ।

आयोगले सरकारलाई राष्ट्रियसभा निर्वाचनका लागि माघको अन्तिम साता मिति तोक्न उपयुक्त हुने सुझाव दिएको थियो ।
निर्वाचन आयोगले माघ २५ गतेसम्म चुनाव गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। आयोगले मिति तोक्नुभन्दा पहिला प्रदेश प्रमुख नियुक्त गर्न पनि सरकारलाई आग्रह गरेको थियो ।

स्रोतका अनुसार दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश प्रमुखको नियुक्ति गर्न भने अझै केही दिन लाग्ने छ ।

बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका अाधारमा प्रदेश प्रमुख नियुक्त गर्न प्रस्ताव गरेका थिए । एमालेले प्रदेश प्रमुख नियुक्त गर्ने अधिकार संविधानले सरकारलाई दिएको भन्दै सहमतिमा चासो देखाएको थिएन ।

प्रतिक्रिया दिनुहोस