चुनाव हार्नुको आठ कारण निकाल्दै सकियो राप्रपा केन्द्रीय कार्यसमिति बैठक

शुक्रबार, २१ पुस २०७४, १६ : २९
चुनाव हार्नुको  आठ कारण निकाल्दै सकियो राप्रपा केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धन असफल भएको निश्कर्ष निकालेको छ । चुनावी समिक्षाका लागि गत पुष १९ देखि २१ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले योसहित पार्टी हार्नुमा आठ कारण रहेको निश्कर्ष निकालेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले  प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेससँग गरेको गठबन्धन नाममात्रै भएको बताए ।

उनले पत्रकार सम्मेलनमा भने ‘त्यो गठबन्धन नामको मात्र भयो, कामको भएन ।’  त्यस्तै राप्रपाले समानुपातिकमा मत नआउनुमा देशभर आफ्ना उम्मेदवार नभएको ठहर गरेको छ । संविधान संशोधनमा आफै अस्थिर, चुनावका मुखमा पार्टी विभाजन लगायतका कारण पार्टीले हार व्यहोरेको निश्कर्ष पनि राप्रपाले निकालेको छ ।

यस्ता छन् राप्रपा हारका कारण
–   बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु,
–   लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानिय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु
–   राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्युन स्थानमा मात्र उमेदरवारी दिनु र अधिकांश क्षेत्रहरुमा राप्रपाको प्रत्यक्ष तर्फ उमेदवार नहुनु,
–   संबिधान संशोधन वारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु,
–   सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु,
–   साधन श्रोतको अभाव रहनु
–   कमजोर संगठनको कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु
–   सिद्धान्त प्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नु
चुनावमा राप्रपाको अप्रत्याशित परिणामको कारण र आधारका वारेमा विस्तृत अध्ययन अनुसन्धान गरि भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न बैठकले डा. बिष्णु भण्डारीको संयोजकत्वमा एक निर्वाचन समिक्षा तथा अध्ययन समिति गठन गरेको छ ।

समितिमा केन्द्रिय सदस्यहरु गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धन बहादुर बुढा, प्रकाश रिमाल, बिजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहनु भएको छ ।

बैठकले  फागनु अन्तिम साता केन्द्रीय परिषद बैठक वीरगञ्जनमा गर्ने, माघमा जिल्ला भेला गर्ने र फागुन पहिलो साता विद्यार्थीको भेला गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस