तनहुँ । तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।
नेपाल सरकारको कार्यक्रमअनुसार गण्डकी प्रदेशको बागलुङस्थित धौलागिरी प्रादेशिक आर्युर्वेद चिकित्सालय, तनहुँको प्रदेश आयुर्वेद चिकित्सकालय, कास्कीको गण्डकी आयुर्वेद अस्पताल र गण्डकी प्रदेश सरकारले नवलपुरको प्रदेश आयुर्वेद चिकित्सालयबाट पाइलट कार्यक्रमका रूपमा स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु गर्न लागेको प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।
तनहुँमा यही कात्तिक २५ गते बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने उनले जानकारी दिए । अस्पतालमा बिहान ७ बजेदेखि १० बजेसम्म बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइनेछ ।
जिल्लामा पहिलो पटक भएकाले कति बालबालिकालाई खुवाइन्छ भन्ने एकिन नभएकाले यो पटक आउने सङ्ख्याले आगामी दिनमा सहज हुने उनको भनाइ छ । नेपालका २५ वटा जिल्लामा यस वर्षबाट स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु भएको बताउँदै उनले प्रत्येक कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने उल्लेख गरे ।
श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइनेछ ।
स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिए । नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको कुशे नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराउने उनले बताए ।
श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्नेछ । उनले भने, “पहिलो पटक भएकाले कात्तिक २५ गते कतिजना बालबालिका आउँछन्, त्यसका आधारमा आगामी दिनका कार्यक्रम बन्नेछ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ०६ : ५६
लेखकबाट थप