क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख अधिकारीलाई पक्राउ गरेका छन् ।
चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी उपाध्यक्ष पनि रहेकी मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको क्यानडाको न्यायमामिलासम्बन्धी मन्त्रालयले बताएको छ । ह्वावेइकी संस्थापककी छोरी पनि रहेकी मङ्गलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई यहि शुक्रवार हुँदैछ ।
अभियोग
ह्वावेइले मङ्गमाथि लगाइएका अभियोगहरूबारे आफूसँग निकै कम जानकारी भएको र उनले 'केही गल्ती गरेको बारे आफू जानकार नभएको' बताएको छ ।
एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको सो कम्पनीले बताएको छ ।
हिरासतमा लिइएकोबारे प्रकाशनमा रोक लगाउनेसम्बन्धी मङ्गले गरेको आग्रह र अदालतहरूको आदेश भन्दै मङ्गलाई हिरासतमा लिइएको विषयबारे क्यानडाका न्यायमामिला मन्त्रालयका प्रवक्ताले थप खुलाउन अस्वीकार गरेका छन् ।
उल्लंघन
चीनले मङ्गलाई तत्कालै रिहा गर्न माग गरेको छ । ओटावास्थित चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको बताएको छ ।
अमेरिकी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार ह्वावेइले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ । गत एप्रिलमा ह्वावेइका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा अमेरिकी अधिकारीहरूले गरेका थिए ।
जासुसी
अमेरिकी सांसदहरूले ह्वावेइका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको हुन सक्ने बताउँदै सो कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि एउटा खतरा भएको बारम्बार बताउँदै आएका छन् ।
एउटा विज्ञप्तिमा ह्वावेइले आफू कार्यरत देशका सबै कानुन तथा नियमहरूको पालना गरेको बताउँदै संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा यूरोपेली संघको पनि आयात नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी कानुनहरूको पालना गरिरहेको बताएको छ ।
अमेरिकी पक्षद्वारा कैयौँ चिनियाँ कम्पनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरूको उल्लंघन र साइबर चोरी गरेकोजस्ता आरोपहरू लगाउँदै ती कम्पनीहरूविरुद्ध कानुनी मुद्दाहरू दायर गरिएका बेला ह्वावेइकी उपाध्यक्ष मङ्ग पक्राउ परेकी हुन् ।
प्रतिक्रिया दिनुहोस