नवलपुरमा पोथी गैँडा मृत फेला

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, ११ : ०४
नवलपुरमा पोथी गैँडा मृत फेला

काठमाडौँ । नवलपुरमा पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली-१७ को आँपको बगैँचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैँडा मृत फेला परेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार विगत ६/७ वर्षदेखि आँपको बगैँचालाई बासस्थान बनाउँदै आएको उक्त गैँडा केही समयदेखि बिरामी थियो । बिरामी र बूढो रहेको उक्त गैँडालाई यसअघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलीले सोही आँपको बगैँचामा आएर उपचार गरेका थिए ।

मृत फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा साउन यता ५ वटा गैँडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैँडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस