उत्तर कोरियाद्धारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

एजेन्सी

शुक्रबार, २१ पुस २०७४, १० : ५५
उत्तर कोरियाद्धारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले सोलसँग अर्को हप्ता वार्ता गर्न सहमति जनाउँदै एउटा पत्र पठाएको जानकारी दिएका छन् । उक्त वार्ता आगामी मंगलवार हुनेछ ।

एकजना सरकारी प्रवक्ताले पियोङचाङ हिउँदे ओलिम्पिक्स र अरु आपसी स्वार्थका विषयमा वार्ताको एजेण्डा हुने बताएका छन्। ज्यानुअरी ९ मा हुने वार्तामा उत्तर कोरियाली खेलाडीहरुलाई आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा कसरी सहभागी गराउने भन्नेबारे छलफल हुनेछ ।

वार्ता
यसै हप्ता उत्तर कोरियाली नेता किम जङ अनले उक्त प्रतियोगितामा प्रतिनिधिमण्डल पठाउने विषय दुई देशको जनस्तरमा रहेको एकता देखाउने उपयुक्त अवसर भएको बताएका थिए । उक्त बैठक सीमावर्ती क्षेत्र पाममुनजोममा हुने अपेक्षा गरिएको छ।

शान्ति गाउँ पनि भनिने उक्त स्थान कडा सुरक्षा घेरा भएको गैरसैनिक क्षेत्रमा अवस्थित छ र त्यहाँ ऐतिहासिक रुपमा दुई देशबीच वार्ताहरु हुने गरेको छ ।

यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले हिउँदे ओलिम्पिक्स दुई देशबीचको सम्बन्ध सुधार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए ।

दुई देश अहिले पनि प्राविधिक रुपमा युद्धकै अवस्थामा छन् तर यसै हप्ताको शुरुमा प्रगति जस्तो देखिने एउटा सानो साङ्केतिक कदममा उत्तर कोरियाले दक्षिण कोरियासँग टेलिफोन हटलाइन पुन: स्थापित गरेको थियो ।

ओलिम्पिक्स
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले एएफपी समाचार संस्थालाई वार्ता स्वीकार गरिएको पत्र शुक्रवार बिहान फ्याक्स मार्फत प्राप्त भएको जानकारी दिएको छ ।

अमेरिका र उत्तर कोरियाबीच महिनौँ यता तनावपूर्ण वक्त्वयबाजीका माझ ओलिम्पिक्स सहभागिता सम्बन्धी प्रारम्भिक कुराकानी अघि बढेको हो ।

ती दुई देशले एकअर्कालाई परमाणू अस्त्रले हमला गरेर विनाश गरिदिने चेतावनी दिने गरेका छन् । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र र परमाणु अस्त्रको परीक्षण गरेपछि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरु सामना गरिरहेको छ।

ओलिम्पिक्स सहभागिताको वातावरण बनाउन दक्षिण कोरियाको आग्रह अनुसार उक्त खेलको समयमा हुने भनिएको दुईपक्षीय सैन्य अभ्यासलाई स्थगित गर्न अमेरिका सहमत भएको छ ।

उत्तर कोरिया त्यस्ता सैन्य अभ्यासबाट आक्रोशित हुने गरेको छ र उसले त्यसलाई लडाइँको तयारीका रुपमा चित्रण गर्ने गरेको छ ।(बीबीसी)

प्रतिक्रिया दिनुहोस