लगानी प्रदेशको प्राथमिकताका क्षेत्रमा हुनुपर्छ : मुख्यमन्त्री शाही

मंगलबार, १८ मंसिर २०७५, १० : ३३
लगानी प्रदेशको प्राथमिकताका क्षेत्रमा हुनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैंक (एडिबी)को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताउनुभएको छ । 

एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०-२०२४) का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो नभई हाल सरकारले लिएका प्राथमिकताका क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिनुभयो । 

“कर्णाली प्रदेशमा सडक, विद्युत्, उद्योग, पर्यटन र कृषि क्षेत्रका बृहत परियोजनामा लगानीको आवश्यकता छ”, उहाँले भन्नुभयो, “एशियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्छ ।” कार्यालयको कागजे कामले कर्णालीको विकास सम्भव नभएको उहाँको भनाइ थियो । “तपाईंहरुले देखिने गरी पूर्वाधारका क्षेत्रमा लगानी गरिदिनोस्, तत्काल सम्भव भएसम्म कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको बनाइदिनुस,” उहाँले भन्नुभयो । 

एशियाली विकास बैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै उहाँले नेता र पहुँचको आधारमा टुुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि नहुने तर्क राख्नुभयो । एउटा मात्रै भए पनि पूर्वाधारको क्षेत्रमा लगानी भएमात्र त्यसको परिणाम देखिने उहाँको भनाइ थियो । “कर्णालीको विकासका लागि द्रूतमार्ग अपरिहार्य छ,” उहाँले भन्नुभयो । 

कर्णालीको गरीबी र विकटता बेचेर व्यक्तिगत समृद्धि हासिल गर्ने प्रवृत्ति हावी भएकाले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारको तर्फबाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शी कार्य गर्न आफू प्रतिबद्ध रहेको उहाँको धारणा थियो । 

एशियाली विकास बैंकका नेपालस्थित आवासीय निर्देशक मुख्तार हामुदखानोभले स्वागत गर्नुभएको कार्यक्रममा नेपालका लागि एशियाली विकास बैंकको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिबारे प्रमुख अर्थशास्त्री शरद भण्डारीले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भूभि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेशसभा सदस्य, प्रदेश सरकारका सचिव, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो । (रासस) 
 

प्रतिक्रिया दिनुहोस