वीरगञ्ज भन्सार : साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०८२, ११ : १९
वीरगञ्ज भन्सार : साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् ।

जबकि गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दुबैमा वृद्धि भएको जानकारी दिए ।

‘‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’’ उनले भने, ‘‘आयात मात्रै होइन राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’’ वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ ।

गत आवको दुई महिनामा छ अर्ब पाँच करोड मूल्यको सामान विदेशी मूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु. १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ । गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस