आज अन्तर्राष्ट्रिय अपांगता दिवस

फुटबल खेल्दाखेल्दै खुट्टा बस्यो, चाहना कहिल्यै बसेन

सुरेन कुँवर

सोमबार, १७ मंसिर २०७५, ०७ : ०३
फुटबल खेल्दाखेल्दै खुट्टा बस्यो, चाहना कहिल्यै बसेन

चितवन । फुटबल खेल्न भनेपछि मरिहत्ते गर्ने अम्बिकालाल श्रेष्ठ धेरै समय फुटबल खेल्न पाएनन् । उनीमा ऐकुलाईजिस अर्थराजिस् भन्ने रोग देखा प¥यो । यस रोगले जोर्नीलाई जमाइदिने गर्छ ।
६ कक्षा पढ्दै गर्दा उनलाई यस्तो रोग देखा प¥यो । उनी ७ कक्षामा नारायणी माविमा पढ्दै थिए । विद्यालयमा सधैंजसो फुटबल खेल्न लागे । त्यो दिन बेलुका उनको खुट्टाका जोर्नीहरु दुख्न थाले । घरमा सबैले बाथ रोगका कारण जोर्नी दुखेको भने । दुखाई सहन नसकेपछि उनी चिकित्सक मथुरा कहाँ गए । डा. मथुराले ७ वटा ईन्जेक्सन लगाइदिए । उनलाई निको भएको महसुस भएपछि विद्यालयस्तरीय फुटबल प्रतियोगितामा फुटबल खेल्न क्याम्पाचौर गए । त्यो दिन फुटबल खेल्दा उनको खुट्टा सुन्नियो ।
औषधी खाँदा निको हुने र निको भएपछि फुटबल खेल्ने क्रम जारी रह्यो । यसरी फुटबल खेलिरहँदा उनीमा गम्भीर समस्या देखियो । उनी २ महिना नै थला परे । चिकित्सहरुले फुटबल नखेल्न सुझाव दिएपनि उनले आफ्नो मन रोक्नै सकेनन् । चितवनमा त्यतिबेला फुटबलको क्रेज बढ्दै थियो । रोगले गाल्दै लगेपछि भने फुटबल खेलमा उनको पूर्णविराम लाग्यो । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकेनन् । उनले एसएलसी पनि उत्तीर्ण गर्न पाएनन् । उपचारको लागि विभिन्न ठाउँमा पुग्नु पर्ने र लामो समयसम्म आराम गर्नु पर्ने भएपछि उनको पढाई रोकियो ।
जडीबुटी खाँदा रोग निको हुन्छ भनेपछि उनी आफ्नो जन्मथलो कास्की गए । जडीबुटीबाट निको नभएपछि नेपालका विभिन्न अस्पतालमा उपचार गर्न पुगे । कसैले बोन टिबीको औषधि दिए, कसैले मलेरियाको दिए तर रोग निको भएन । उनको शरीर झनै सुक्दै गयो, तर रोग भने पत्ता नै लागेन ।
वि.सं. २०४० सालमा आफन्तले पढाई बिग्रियो भन्दै उनको बिहे गरिदिए । त्यसपछि उनले हालको भरतपुर महानगरपालिका वडा नम्बर २४ चनौलीमा किराना पसल गर्न थाले । ५ बर्षसम्म किराना व्यवसाय गरेका श्रेष्ठले जिल्ला समवन्य समितिको अघिल्लतिर चाँदनी रेष्टुरेष्ट संचालनमा ल्याए । हिँडडुल गर्न गाह्रो भएपछि उनी लठ्ठीको सहारा लिएर हिँड्न थाले । उनले खुट्टाको उपचारका लागि शान्ता भवन काठमाडौँका हाडजोर्नी विषेशज्ञ डा. फिजियोलाई देखाए, भारतको दिल्ली पनि गए ।
वि.सं. २०५० सालमा काठमाडौँको त्रिपुरेश्वर अस्पतालमा उनको एउटा हिप जोर्नी परिवर्तन गरियो । त्यसको पाँच बर्षपछि फेरि अर्को हिप जोर्नीमा स्टील राखियो । वरिष्ठ हाडजोर्नी चिकित्सक डा. अशोक बास्कोटाले शल्यक्रिया गरेको उनी बताउँछन् ।
पछि त उनको दुबै खुट्टा फ्याक्चर भए । उनी अपाङ्गहरुकै कार्यक्रममा भरतपुर महानगर गएका बेला वि.सं. २०७० सालमा नगरपालिका गेटमा उनको दाहिने खुट्टामा मोटरसाइकलले ठक्कर दियो । ४ महिनाअघि आफ्नै घरको बाथरुमा उनी लडे । उनको देब्रे खुट्टा पनि फ्याक्चर भयो । अहिले उनी आराम गरिरहेका छन् ।


श्रेष्ठका अहिले दुई छोरा, एक छोरी र श्रीमती छन् । छोरी उच्च शिक्षाका लागि अष्ट्रेलिया छिन् भने २ जना छोरा काठमाडौँमा अध्ययन गरिरहेका छन् । श्रेष्ठ भन्छन्, ‘हिँड्न नसक्ने भएपछि मैले साथीहरुसँग भेटघाट गर्न पनि छाडेँ । नदेखेपनि हुन्थ्योजस्तो उनलाई लाग्यो । मन विचलित भयो । छोरीको जन्म भएपछि अब केही गर्नुपर्छ भन्ने लाग्यो । होटललाई मैले धेरै ध्यान नदिँदा पनि राम्रो व्यपार हुन्थ्यो । विद्यार्थीहरुलाई मःम दिएर भ्याइनभ्याई हुन्थ्यो ।
उनका शिक्षकहरुले उनलाई सम्झाए । उनी भन्छन् ‘तिमी बाठो छौ, नेतृत्व गर्न सक्ने क्षमता छ भन्दै शिक्षकहरुले मलाई अपाङ्ग समाज चितवनमा समावेश हुन आग्रह गरे । वि.स २०५५ सालतिर अपाङ्ग समाज चितवनका अध्यक्ष बालकृष्ण श्रेष्ठसँग भेट भयो । त्यसपछि मैले संस्थाको सचिव पद सम्हालेँ ।’
वि.सं. २०५८ सालमा उनी अपाङ्ग समाजका निर्वाचित अध्यक्ष भए । उनी नेतृत्वमा आएपछि सरकारी कार्यालयमा अपाङ्गको बिषयमा आफ्नो कुरा राख्न जान्थे । उनी भन्छन्, ‘सरकारी कार्यालय जाँदा माग्न आयो भन्दै गेट लगाउँथे । धेरै समय सरकारी कार्यालयमा प्रवेश नै पाइन् ।’
अपाङ्गहरुको छाता संगठन स्थापना गर्ने उद्देश्यले उनकै नेतृत्वमा वि.सं. २०६१ मा अपाङ्गता जागरण अभियान नामक संस्था खोले । त्यसपछि उनकै नेतृत्वमा संस्थाले अपाङ्गहरुको हकहितका लागि विभिन्न काम सुरु ग¥यो । चितवनमा गाडीमा अपाङ्ग सिट लेख्ने, प्लेन टिकटमा छुट लगायतका विषयमा कामको थालनी ग¥यौं । अपाङ्गहरुलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम दिने गर्न थाल्यौं ।
उनी भन्छन्, ‘अपाङ्गहरुले देशको परिवर्तन गर्ने आन्दोलनमा अग्रणी भूमिका निभाए । २०४६ साल होस् वा २०६२÷६३ को आन्दोलनमा निषेधित क्षेत्र तोड्ने अपाङ्ग नै हुन् । अपाङ्गहरुको योगदान महत्वपूर्ण भएपनि देशको कुनै पनि नेतृत्वदायी भूमिकामा अपाङ्गलाई पठाइएन । ७ सय ५४ वटा स्थानीय तहमा महिला, जनजाति, दलितको सहभागिता भएपनि अपाङ्गहरुको सहभागिता नहुनु दुखद कुरो हो, उनी बताउँछन् । देशमा गणतन्त्र आएपनि अपाङ्गहरुलाई नआएको उनले सुनाए ।
श्रेष्ठ भन्छन्, ‘अपाङ्गहरुका लागि अपाङ्गले मात्र नीति निर्माण गर्न सक्छ । अपाङ्गलाई अझै पनि राज्यले उपेक्षा गरेको छ ।’ अपाङ्ग समाज चितवन र अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष श्रेष्ठले आफ्नो अन्तिम अवस्थासम्म अपाङ्गहरुको हकहितका लागि लडिरहने बताए ।
उनी भन्छन्, ‘अपाङ्ग व्यक्तिहरुले गर्न नसक्ने काम केही पनि छैन । खुट्टा नहुनेहरु सगरमाथा चढेका छन्, हात नहुनेहरुले ड्राईभिङ गरेका छन् । अपाङ्ग जो कोही हुन सक्छ । अपाङ्ग भएपछि संस्थालाई सम्झनुभन्दा आजैबाट अपाङ्गलाई माया गर्ने बानी बसाल्नुपर्छ ।’
अपाङ्ग तथा अपाङ्गका परिवारलाई १२ महिना नै सिलाई बुनाईको तालिम दिएर उनले धेरै जनालाई आत्मनिर्भर बनाउन सहयोग गरेका छन् । जिल्लाका प्रमुखहरुलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न सहयोग गर्न भन्दै घच्घच्याउने उनको दिनचर्या हो । उपचारका लागि अस्पतालमा आएकाहरुलाई शुल्कमा छुट गर्ने काममा सधैं लाग्ने गरेको उनी बताउँछन् । दुबै खुट्टा फ्याक्चर, ऐकुलाईजिस अर्थराजिस रोगबाट पीडित श्रेष्ठको जोश र जाँगरमा कत्ति कमी आएको छैन । उनी भन्छन् ‘शारीरिक रुपमा अशक्त भएपनि, मानसिक रुपमा साङ्गभन्दा कम छैन ।’

 

प्रतिक्रिया दिनुहोस