झापा । जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयात निर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले नयाँ कम्प्युटर, ल्यापटप र आवश्यक अन्य सरसामान खरिद गरेर आजदेखि सेवा सुरु गरिएको बताए । “भौतिक संरचना र सामानहरू जलेर बाँकी केही छैनन्,” उनले भने, “कम्प्युटर, ल्यापटप, फर्निचर नयाँ खरिद गरेका छौँ र केही दाताहरूको सहयोग प्राप्त भएको छ । आयात–निर्यातको काम आजदेखि सुरु गरेका छौँ ।”
मेची उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख हरिहर पौडेललाई आइतबार भेटेर भन्सार सञ्चालनका लागि आग्रह गरेको थियो । वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिएसँगै पुरानै लयमा फर्किएर व्यवसाय सुरु गर्न समेत अपिल गरेको छ ।
यसैगरी भद्रपुर भन्सार कार्यालयले आइतबारदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ । जेन जेड आन्दोलन हिंसात्मक बन्दा दुवै भन्सारमा लुटपाट, तोडफोड र आगजनी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १२ : ०८
लेखकबाट थप