काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा भएको आगजनीले सिंहदरवार खण्डहर बनेको छ । तर पनि चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा अझै शिरमा फहराइरहेको छ । झण्डासँगै आशा र विश्वासको सन्देश बोकेर उभिएको छ, सिंहदरवार ।
आगोका लप्काले निलेको सिंहदरवार नियाल्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव बस्याल निकै भावुक देखिन्थे । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेछ भन्नेमा उनी उत्तिकै आशावादी छन् । रसिला आँखा पार्दै उनले भने, “यो सबै दृश्य मेरो आँखाले राम्रोसँग हेर्न पनि सकेको छैन । स्वाभाविक रूपमा भावुक छु । तर निराशा बीच पनि आशा र विश्वास ढलेका छैनन् । पक्कै पनि सिंहदरवार पुनः उभिनेछ भन्नेमा म विश्वस्त छु ।” सिंहदरवार आगजनी र तोडफोडले कुरूप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्ने सन्देश दिइरहे जस्तो लाग्छ । धुवाँले पोतिएका सिंहदरवारका भित्तामा उत्कीर्ण कला–कौशल पुन:निर्माणको प्रतीक्षामा छन् । उत्कृष्ट शिल्प र कलात्मक सौन्दर्य धुवाँको कालो पोतोभित्र दबिएका छन् ।
सिंहदरवारको तस्बिर खिचिरहेकी कानुन व्यवसायी देवमाया घिमिरेले भनिन्, “सिंहदरवार जलेको दृश्यले मन जलायो, हृदय भारी बनायो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो लाग्यो । यस्तो दृश्य शब्दले वर्णन गर्न सकिँदैन ।” अर्की कानुन व्यवसायी सुमित्रा श्रेष्ठले भनिन्, यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिएको भए कति राम्रो हुन्थ्यो भन्ने पीडा लागेको छ ।
सिंहदरवार पुग्ने जो कोहीको अनुहार मलिन देखिन्थ्यो । कतिपयका आँखा रसाएका थिए । जलेको सिंहदरवार आइतबार मध्यान्ह नियाल्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली भरिएको थियो । अधिकांशले मोबाइल र क्यामेराले तस्बिर र भिडियो खिचिरहेका थिए । तर खिच्ने क्रममा पनि मौनता छाएको थियो ।
आइतबार प्रशासनिक कार्य खुलेसँगै सिंहदरवारमा चहलपहल देखियो । बाक्लो संख्यामा कर्मचारी र सर्वसाधारण अवलोकनका लागि पुगेका थिए । सिंहदरवार नेपालको प्रशासनिक इतिहासको ज्वलन्त भौतिक प्रमाण हो ।
प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउने डर छ । उनी भन्छन्, “सिंहदरवार नेपालको वैभवशाली विकासको प्रतीक थियो । पटक–पटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको ठुलो चुनौती हो । हेर्दा अत्यन्तै दुःख लाग्छ । तर यो पुन:निर्माण असम्भव भने होइन । खर्च धेरै हुन्छ, अन्य क्षेत्रमा जाने रकम खुम्चिन्छ, तर पनि फेरि उभिनेछ भन्नेमा आशा राखौँ ।”
गोरखा भूकम्पपछि पुन:निर्माण गरेर सुन्दर रूप पाएको सिंहदरवार अहिले फेरि खरानी बनेको छ । संघीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले भूकम्पपछिको स्वरूप सम्झँदै भने, “धेरै आकर्षक बनेको थियो । अहिले यसरी जलेर खण्डहर बनेको देख्दा पीडा भयो । नेपाल आफैँले यस्ता ठूला पूर्वाधार बनाउन सजिलो छैन । तर बनेका संरचनाले समृद्धिको आशा जगाएका थिए । अहिले यो दृश्यले भावुक बनायो ।”
सिंहदरवार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्ताबेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहासमाथि नै प्रहार भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले भने, “सिंहदरवारको अवस्था असाध्यै पीडादायी छ । अत्यन्तै भावुक र चिन्तित बनायो । यो देशको ऐतिहासिक धरोहर हो । सरकारले यसलाई अघिल्तिरकै अवस्थामा पुन:निर्माण गर्नुपर्छ ।”
पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले पनि जलेको सिंहदरवार देख्दा गहिरो पीडाबोध भएको सुनाए । उनले संसद् भवन र सिंहदरवार जलेको दृश्यले आफूलाई असाध्यै दुःखी बनाएको बताए ।
सिंहदरवारको सुरक्षा दिइरहेका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । भित्रै काम गर्ने उनले सिंहदरवार खरानी हुँदा मन थाम्नै नसकेको अनुभव सुनाए ।
यो राणाकालीन ऐतिहासिक सम्पदा हो । मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका संरचना रहेका थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले इस्वी संवत् १९०३ मा आफ्नो निजी निवासका लागि निर्माण गरेका थिए ।
सिंहदरवारमा एक हजार सात सय कोठा थिए । त्यो बेला यो एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । रु २५ लाख खर्च गरेर निर्माण गरिएको यो भवन विसं २००७ मा राणा शासन अन्त्य भएपछि नेपाल सरकारको कार्यालयका रूपमा प्रयोगमा आयो ।
त्यतिबेला प्रधानमन्त्रीको कार्यालयदेखि सम्पूर्ण मन्त्रालयसम्म यही भवनमा थिए । विसं २०३० मा भएको आगलागीले पछाडिको भाग ध्वस्त बनाएको थियो । यो भवन युरोपेली शैलीमा बनेको हो । चन्द्र शमशेर शिकार र कलाका सौखिन भएकाले भित्तामा शिकार गरिएका जनावरका सिर र युरोपेली शैलीका चित्र सजिएका थिए । बत्ती र अन्य शृङ्गारका सामग्री युरोपबाट मगाइएको थियो ।
आइतबारदेखि सिंहदरवारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए । आगजनी र तोडफोडबाट प्रभावित भए पनि ती निकायका कर्मचारीले नियमित काम अघि बढाएका छन् ।
आशा गरौँ, सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरि उभिनेछ सिंहदरवार । जसलाई नियाल्दै हरेक नेपालीले देशको समृद्धिको कथा सुनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा विपक्षी दलको संयुक्त बैठक जारी