जितिया पर्वको ‘ओगटन’ आज

सफल खबर संवाददाता

शनिबार, २८ भदौ २०८२, ०८ : १८
जितिया पर्वको ‘ओगटन’ आज

महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै  छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो ।

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष)को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही/चिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ । 
 
पर्वमा चोखा नयाँ वस्त्र परिधान लगाइने हुँदा र ‘ओगटन’ का सामग्री जुटाउन मिथिलानीको व्यस्तता छ । एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथि एक घडी कटाएर समापन गरिने चलन रहेको व्रतको तयारीमा रहनुभएकी भङ्गाहा–५ राजपुरकी हरिप्रिया कुशवाहा बताउछिन् ।

मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिने परम्परा छ । यसअनुसार यसपालिको जितिया समापन पर्सि सोमबार बिहान ७ः०० बजे हुने हिन्दू परम्पराको मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाहरूले गर्ने पर्व हो । मिथिला क्षेत्रका सबै जातजाति समुदायमा यो पर्व परम्परा भए पनि थारुहरू यसलाई विशेष महत्वका साथ मनाउँछन् ।  पितृपक्षको यो पर्वमा बर्तालु महिलाले एक दिनअघिअर्थात् सप्तमी तिथिका दिन  एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गर्छन् । 

यसैक्रममा बर्तालुुले दिवङ्गत सासू, जेठानी/देउरानी, बूढीसासू, नन्द–आमाजू, माइतीपक्षका तीन पुस्ताभित्रका आमा, बज्यै, दिव र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिन्छन् । यी पितृहरूसँग ‘तिमी आफ्ना पौत्रपौत्री (नातिनातिना), प्रपौत्रप्रपौत्री (पनातिपनातिनी) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस