नेपालको राजनीतिको इतिहासले देखाउँछ, हरेक पुस्ताले आफ्नो समयअनुसार आन्दोलनको भाषा र शैली विकास गर्दै आएको छ । पञ्चायतको अन्त्यमा सडकमा उत्रिएको युवापुस्ता होस् वा दोस्रो जनआन्दोलनको बलियो शक्ति बनेको विद्यार्थी होस्, हरेक पुस्ताले परिवर्तनको द्वार खोल्न योगदान दिएको छ । अहिलेको दृश्य भने फरक छ ।
सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै पहिलोपटक हजारौँ ‘जेन–जी’ पुस्ता सडकमा उत्रिँदैछन् । स्वस्फूर्त ढंगले सडकमा उत्रन लागेको जेन–जी पुस्ताको प्रदर्शनले देशलाई अर्को खालको सन्देश दिएको छ- अब संघर्ष डिजिटल स्पेसमै पनि उतार्न सकिन्छ ।
यो प्रदर्शन कुनै राजनीतिक दलको निर्देशन होइन, स्वतन्त्र युवाको स्वतःस्फूर्त निर्णय हो । तर सरकारको नेतृत्व गरिरहेको दलबाहेक प्रमुख विपक्षी माओवादी केन्द्र, रास्वपा, बालेन जस्ता नयाँ सोचका साथ अगाडी बढ्न चाहेकाहरुको समर्थन भने छ ।
सामाजिक सञ्जालमा रोक लगाउने सरकारी सोचले यस पुस्तालाई सडकमा ल्याएको हो । सामाजिक सञ्जाल उनीहरूको लागि मनोरञ्जन मात्र होइन, परिचय निर्माण गर्ने थलो हो । यही प्लेटफर्ममा उनीहरूले आफ्ना विचार व्यक्त गर्छन्, उद्यमशीलता र रोजगारी खोज्छन्, र विश्वसँग जोडिन्छन् । यस्तो उपकरणमा रोक लगाउने प्रयास उनीहरूको स्वतन्त्रतामाथिको प्रहार हो, जसलाई उनीहरूले मौन स्वीकार गर्न सक्दैनन् । त्यसैले माइतीघरमा उत्रिएर युवाहरूले आवाज उठाउन खोजेका छन्, ‘हाम्रो अधिकार कोही रोक्न सक्दैन, हाम्रो आवाज दबिँदैन।’
जेन जी पुस्तालाई बुझ्न तीन दृष्टिकोण महत्त्वपूर्ण छन् । पहिलो, यो पुस्ता इन्टरनेटसँगै हुर्केको पुस्ता हो। सूचना, संगठन, अभिव्यक्ति यो पुस्ताको सबै डिजिटल छ। दोस्रो, उनीहरूले नेपाललाई मात्र होइन, विश्वका आन्दोलन, प्रवृत्ति र सफलतासँग पनि आफूलाई तुलना गर्छन् । तेस्रो, पारदर्शिता, न्याय, समानता र सहभागिता उनीहरूको प्राथमिक मूल्य हुन्।
यसैले परम्परागत राजनीतिले जस्तोसुकै दबाब दिए पनि यो पुस्तालाई मौन बनाउने सम्भावना छैन। त्यसकारण पनि यो आन्दोलन केवल डिजिटल स्वतन्त्रतामै सीमित छैन ।लामो समयदेखि देखिएको भ्रष्टाचार, राजनीतिक अस्थिरता र अवसर अभावले युवाको मनमा चर्को असन्तुष्टि भरिएको छ । उनीहरूलाई लाग्छ, पुराना राजनीतिक दलहरू (मुख्यतः कांग्रेस एमाले) ले समस्या समाधान गर्नुको सट्टा समस्या बढाएका छन् । यही कारणले गर्दा नयाँ पुस्ताले नयाँ आन्दोलनको छाल निर्माण गर्न खोजेका हुन् ।
नेपालको संविधानले संघीय लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको ग्यारेन्टी गरेको छ। तर व्यवहारमा भने राजनीतिक अस्थिरता, बेरोजगारी र भ्रष्टाचारले देशलाई थला पारेको छ । राजनीतिक अस्थिरता यतिविघन छ की, गत १५ वर्षमा १३ पटक सरकार फेरिएको छ । आर्थिक संकट बढेको छ । बेरोजगारी र वैदेशिक रोजगारमा निर्भरता बढेको छ । जसकाकारण जनआक्रोश बढेको छ ।
यही पृष्ठभूमिमा जेन–जी पुस्ताको आवाजले नयाँ विकल्पको खोज संकेत गरेको छ । यो विकल्प ब्यवस्था र सत्ता परिवर्तन होइन, राजनीतिक संस्कृति परिवर्तन हो । सरकार र मुख्यतः सरकारमा रहेका दलहरूले बुझ्नुपर्ने कुरा प्रष्ट छ- सामाजिक सन्जलमाथी प्रतिबन्ध होइन, संवाद चाहिन्छ । युवाको आवाजलाई दबाउने होइन, नीतिनिर्माणमा सहभागी गराउनुपर्छ।
सामाजिक सञ्जालमा रोक लगाउने होइन, सकारात्मक प्रयोगका लागि स्पष्ट नीति बनाउनु पर्छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा, भ्रष्टाचार नियन्त्रणमा वास्तविक कदम चाल्नुपर्छ। यो आन्दोलन केवल आक्रोशको विस्फोट मात्र होइन, नेपालको राजनीतिक–सामाजिक संरचनालाई दिएको एक चेतावनी हो । यदि सत्ताले यो आवाजलाई वेवास्ता गर्छ, यो पुस्तालाई ‘फेसबुकका क्रान्तिकारी’ भनेर हेला गर्छ, परिणाम महँगो पर्न सक्छ । किनकि यही पुस्ताले अर्को दशकमा देशको नेतृत्व सम्हाल्नेछ ।
जेन–जी पुस्ताले दिएको सन्देशलाई हल्का रूपमा लिनु आत्मघाती हुनेछ । उनीहरुले अगाडी सारेका नारा केवल नारा मात्र नभई सम्भावना हो । यदि यसलाई सशक्त र निरन्तर बनाइयो भने, यसले नेपाललाई पारदर्शी, सहभागी, डिजिटलमैत्री र भविष्यमुखी राष्ट्र बनाउनेछ । लोकतन्त्रलाई मजबुत बनाउन पुरानो पुस्ताले देखाएको बाटो आवश्यक छ, तर नयाँ पुस्ताको ऊर्जा र नवप्रवर्तन अपरिहार्य छ । यही सन्देश माइतीघरले यसपटक फेरि दिने र आन्दोलनको नयाँ छाल सिर्जना गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै