काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जनजीवन जोखिममा परेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले दक्षिण एशियामा फोहोर खुला रूपमा जलाउने प्रथा अन्त्य गर्न रूपान्तरणात्मक कार्य आवश्यक रहेको बताए ।
उनले खुला रूपमा फोहोर जलाउने प्रथा जलवायु संकट र प्रदूषणको मुख्य तर प्रायः बेवास्ता गरिएको विषय रहेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको बताए ।
‘हामी जलवायुजन्य विपद् तथा यसको उच्चतम् प्रदूषणस्तरको उच्चतम् जोखिममा पनि छौं । फोहोर खुला रूपमा जलाउने प्रथा यस संकटको महत्वपूर्ण तर प्रायः बेवास्ता गरिएको एउटा विषय हो,’ उनले भने ।
मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्वद्ध गर्ने र दिगो वन सुदृढ गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै यसको लागि खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गर्नु जरुरी रहेको दोहोर्याए ।
‘यसले हाम्रा शहर तथा गाउँहरूको वायु प्रदूषण मात्र गर्दैन यसले ब्ल्याक कार्बन जस्ता छोटो अवधिका प्रदुषक उत्सर्जन गरी हिमालहरूको हिउँ पग्लिने गतिलाई समेत द्रूत बनाइरहेको छ’ उनले भने, ‘नेपालको सन्दर्भमा यो विषय गम्भीर बन्दै गएको छ किनकी हाम्रो हाम्रो हिमाल औसतभन्दा दोब्बरको गतिमा तातिरहेको छ ।’
उनले थपे, ‘यसले हिमनदीहरू, जैविक विविधता र करोडौं मानिसहरूको जनजीवनलाई समेत जोखिममा पारेको अवस्था छ ।’
मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले निर्धारित योगदान एनडीसीमार्फत कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्द्धन गर्ने र दीगो वन सुदृढ गर्ने प्रतिबद्धता जनाएका स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ भदौ २०८२, १३ : ०८
लेखकबाट थप