मौलिकतामा आधारित शिक्षा नीति आवश्यक : मुख्यमन्त्री  गुरुङ

शुक्रबार, १४ मंसिर २०७५, १८ : १०
मौलिकतामा आधारित शिक्षा नीति आवश्यक : मुख्यमन्त्री  गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा नीति आवश्यक रहेको बताउनुभएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यशाला कार्यक्रममा उहाँले व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो औँल्याउनुभयो । मुलुकमा अधिकारको लडाई समाप्त भएको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि राजनैतिकरुपमा गठित सङ्घ सङ्गठन आवश्यक नरहेकामा जोडदिनुभयो । 
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दक्ष र निष्ठावान् शिक्षकबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । पठनपाठनमा अङ्ग्रेजी भाषालाई बढी महत्व दिएर मातृभाषालाई कमजोर बनाउन नहुनेमा जोड दिँदै उहाँले सङ्घ सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । 
प्रदेशसभा सदस्य रामजी बराल, राजीव पहारी र मनबहादुर गुरुङले परीक्षा प्रणाली समयसापेक्ष बनाइनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव दीपेन्द्र काप्mले, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालगायतले गुणस्तरीय, व्यावसायिक र प्राविधिक विषय शिक्षा नीतिमा समेटिनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस