हरिबहादुरको जुत्ताको प्रमोसनल भिडिओमा प्रकाश र स्वस्तिमाको पुरानै केमेस्ट्री

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, १३ : ४२
हरिबहादुरको जुत्ताको प्रमोसनल भिडिओमा प्रकाश र स्वस्तिमाको पुरानै केमेस्ट्री

काठमाडौं । केही दिनदेखि सिनेनगरीमा दुई चर्चित कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबारको स्थिति रहेको हल्ला व्याप्त थियो । यो हल्ला फैलाउने काम गरेका थिए, भेट्रान चलचित्र पत्रकार प्रकाश सुबेदीले ।

आफ्नो टिभी कार्यक्रमबाटै सुबेदीले दाबी गरेका थिए कि ‘वसन्त’ को हल भिजिटमा स्वस्तिमा नहिँडेपछि सपुत उनीसँग पुरै चिढिरहेका छन् र अहिले उनीबीच बोलचालसमेत छैन । तर, सुबेदीको यो दाबीलाई खण्डित गर्दै एउटा भिडिओ सार्वजनिक भएको छ । यो प्रकाश र स्वस्तिमा दुवैले अभिनय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’का लागि बनाइएको प्रमोसनल भिडिओ हो, जसमा उनी दुवै सँगै देखिएका छन् । साथमा छिन् स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने ।

यस भिडिओमा प्रकाश र स्वस्तिमा केमेस्ट्री पहिलेजस्तो सहज र सामान्य देखिन्छ । उनीहरुबीच मनमुटाबको गन्ध यसमा आएको छैन । भिडिओको सुरुवातमा दुईजना दुईपट्टि फर्केर बसेका छन्, एक-अर्कासँग रिसाएको भाव देखाउँदै । प्रकाश सपुतको गिलासमा पानी पिइरहेका हुन्छन् । सीता आएर दुवैलाई सोध्छिन्, ‘पानी बाराबार भएको भन्या सुन्या थेँ । के हो तपाईँहरू अझैँ पनि बाझिरहेको हो ? मिल्नु हौ, बेला बित्न लागिसक्यो । एक्सक्युज मी !’

यसपछि दुवैजना एक-अर्कालाई हेर्दै खुलेर हाँस्छन् । यही हाँसोले नै ‘पानी बाराबार’ को दाबीलाई खण्डित गरेको छ । उनीहरूले कुनै जवाफ नदिईकन ‘हरिबहादुरको जुत्ता’ को सोमबार रिलिज हुन लागेको ‘बेला बितेसी’ गीत हेर्न दर्शकलाई आह्वान गरेका छन् ।

भिडिओको अन्त्यमा प्रकाशले आफूले पिइरहेको पानीको गिलास स्वस्तिमालाई दिन्छन् । स्वस्तिमाले एक घुट्को पिउँछिन् । फेरि प्रकाशलाई दिन्छिन् । प्रकाशले पनि एक घुट्को पिउँछन् । 

 

प्रतिक्रिया दिनुहोस