काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयमा पत्रकारको पहुँचका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताएका छन् । ललितपुरमा आयोजित सर्वोच्च अदालतमा मुद्दा वक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू विषयमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको भन्ने गुनासोप्रति आफू गम्भीर रहेको बताए । उनले सूचना दिनका लागि आफूहरू प्रयत्नशील रहेको उल्लेख गर्दै इजलासमै बस्नका लागि पनि बाहिर छुट्टै स्थान बनाउने व्यवस्था गर्ने बताए । अदालतको बारेमा टीकाटिप्पणी, आलोचना नहोस् भन्ने आफूले नठान्ने तर नभएको तथ्य उजागर गरेर अदालतको हुर्मत लिने काम नगर्न चेतावनी दिए ।
अदालतबाट मान्छेको भरोसा डगमगाएको भए यसरी लाखौँ मुद्दा दर्ता नहुने उनको भनाइ छ । आफू पूर्ण प्रेस स्वतन्त्रताको हिमायती रहेको उल्लेख गर्दै न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरू प्रकाशन भए अदालतले टुलुटुलु हेरेर नबस्ने बताए । न्यायालयले आफ्नो मर्यादा ननाघ्ने र संयमता पनि नगुमाउने स्पष्ट पारे । मर्यादा र संयमताभित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्ने कुरामा न्यायिक नेतृत्व सजग र संवेदनशील रहेको उनको भनाइ छ ।
प्रधानन्यायाधीश राउतले भने, ‘पत्रकारको न्यायालयमा पहुँच भएन कि भन्ने छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । कम भयो कि भन्ने छ । मुख्य रजिस्टार यहीँ हुनुहुन्छ । सूचना दिनका लागि हामी प्रयत्नशील छौँ । त्यहाँ बस्नका लागि बेन्चमै पनि इजलासको बाहिर बस्न एउटा छुट्टै रो पनि बनाउन सकिन्छ भने त्यो पनि सक्छौँ । कुनै कुरामा विघ्न बाधा छ भने त्यसलाई हटाउँछु । मेरो संवैधानिक दायित्व पूरा गर्न म कठोरसँग लाग्नेछु । अदालतको बारेमा टीकाटिप्पणी, आलोचना नहोस् भन्ने पनि होइन । तर नभएको सत्य, तथ्य उजागर गरेर अदालतको हुर्मत लिनु हुँदैन ।’
उनले भने, ‘यदि अदालतबाट मान्छेको भरोसा डगमगाएको भए यसरी लाखौँ मुद्दा कहीँ पर्छ ? जुन कुरा होइन, नभएको कुरा होइन भनेर सम्प्रेषण गर्नुपर्छ । म पूर्ण प्रेस स्वतन्त्रताको हिमायती मान्छे हुँ । म कलमबाट परेको बेलामा गर्नुपर्ने सम्मान र समर्थन गर्न म तयार छु । तर न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा गरिमा भत्किने गरी ती कुराहरू उजागर हुन थाल्यो भने फेरि के अदालत टुलुटुलु हेरेर मात्रै बस्न मिल्छ ? हामीले सन्तुलन खोज्नुपर्दैन ? हामी मर्यादा नाघ्दैनौँ । हामी संयमता पनि गुमाउँदैनौँ । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्ने कुरामा न्यायिक नेतृत्व सजग र संवेदनशील छ ।’
प्रधानन्यायाधीश राउतले न्यायालयलाई भरोसा र विश्वासको केन्द्र बनाउन आफूहरू लागिपरेको बताए । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवसर गुम्यो भने देश र जनताको बेहाल हुन्छ : प्रधानन्यायाधीश राउत
इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बदनाम हुँदैन : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान