अवसर गुम्यो भने देश र जनताको बेहाल हुन्छ : प्रधानन्यायाधीश राउत

सफल खबर संवाददाता

शनिबार, २१ असार २०८२, १६ : २५
अवसर गुम्यो भने देश र जनताको बेहाल हुन्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता, विघ्न वाधामा अनुकूलता खोज्न जरुरी रहेको बताएका छन् ।  शनिबार काठमाडौँमा ‘सुनेको शासन: भोगेको प्रशासन’ नामक पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकूलता, असहजता, विघ्न वाधा देखिने गरेको भन्दै उनले प्रतिकूलता, असहजता, विघ्न वाधामा अनुकूलता खोज्न जरुरी रहेको बताए । उनले प्रबुद्ध वर्गहरूले नियतबारे सधैँ हेक्का राख्नुपर्ने समेत बताए । अवसरहरू वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताउँदै उनले अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गरे ।

त्यसैले आफ्नो वरपर रहेका अवसरहरूलाई सूक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको समेत उनले बताए । अब पनि अवसरहरू नियाल्न ढिलो गरे मुलुकले ठुलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने उनको भनाइ थियो ।

प्रधानन्यायाधीश राउतले भने, ‘प्रबुद्ध वर्गहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ । यो बहुत ठुलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्यायाधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनै पनि हिसाबले मैले मुकर गर्दिन । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । न्यायाधीश न्यायाधीश बिचमा बसेर न्यायिक निरूपण गर्नुपर्‍यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन ।’

राउतले भने, ‘मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभूति हुन्छ भने प्रतिकूलता, असहजता, विघ्न वाधा देखिन्छ । प्रतिकूलता, असहजता, विघ्न वाधामा पनि अनुकूलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । सङ्कल्प बोकेर हिँडेको छु म । अवसरहरू हाम्रा वरिपरि नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासीनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन कि ? देख्न पो सकिएन कि, समात्न पो सकिएन कि ? अवसरले हामीलाई कहिल्यै पर्खिँदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ ।’

उनले थप भने, ‘हाम्रा वरपर रहेका अवसरहरूलाई हाम्रा सूक्ष्म दृष्टिले, चेतनाका ती प्रतिविम्वहरुले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ ।’

प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तस्करणबाट नै चम्किने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस