राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन: अध्यक्ष लिङदेन

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०८२, ११ : ४३
राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन: अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन । अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पारे । उनले राप्रपा अब कहिल्यै विभाजन नहुने बताए । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसको केही अवशेषहरु अझै भएपनि अब त्यो सम्भावना नरहेको उहाँनको दाबी छ । 

उनले भने ‘यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्र्नुुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्टिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्र्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन तर कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोशिस गर्छ तर अब त्यो सम्भावना पनि छैन राप्रपामा र म यति नै भन्छु यो विषय चाहीँ हामी पार्टी मै बसेर टुङ्याउँछौँ ।’ 

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताए । चित्त नबुझेका विषयहरु पार्टीका समितिहरुमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्र्षलाई सबैले मानेर जानुपर्ने बताए। पार्टीका समितिहरुमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथी नै चुनौती दिन सकिने उनको भनाई छ । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न नहुने उनले बताए । 

विवादबारे उनले भने, ‘बाहिर जो आईरहेको छ, यसलाई चाहीँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छौं । त्यो विवादका पार्टका रुपमा रहेका साथीहरुलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरुको अथवा विचार मिल्ने मानिसहरुको संगठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरु हुन्छन् । कमिटी प्रणाली हुुन्छ । चित्त नबुझेका विषयहरु कमिटिमा छलफल गर्ने, छलफलछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन अल्पमतमा परियो चित्त बुझेन भने महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ । नेतृत्वमाथी नै विश्वास भएन, नेतृत्वसंगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौति दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरु खुल्ला हुुन्छन् । तर पार्टीको आन्तरिक विषयहरु संचारमाध्यममा लैजाने,शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न अनुपयुक्त हुन्छ । सदाझै हामी यो समस्यालाई समाधान गरेर लान्छौ ।’
उहाँले असन्तुष्ट पक्षहरुले अध्यक्षले विद्यान विपरित काम गरेको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरु हेरफेर गरिएको उनको दाबी छ । विधानले अध्यक्षलाई समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाई छ । 

उनले भने, ‘यसमा मैले नयाँ काम गरेको होइन, त्यो । म अध्यक्ष भइकनको पहिलो काम पनि होइन, त्यो । नियमित रुपमा विभागहरुको हेरफेर गर्ने, जिम्मेवारी हेरफेर गर्ने कामहरु पहिले पनि भइराखेका हुन्थे । त्यही क्रममा यसपटक पनि भएको थियो । यो पटक विभागहरुको हेरफेर गर्दाखेरी एउटा व्यक्ति जसले चाहीँ अहिले कम्प्लेन गर्नुभयो, चित्त बुझाउनुभएन । उहाँको मात्रै होइन धेरै मान्छेहरुको हेरफेर गरिएको थियो जिम्मेवारीबाट । पार्टीको विधानले नै अध्यक्षलाई दिएको सुविधा हो, विभिन्न समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारीहरुलाई, सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने अध्यक्षको जिम्मेवारी हो । त्योअनुसार नै गरेको कामहरु हो ।’

नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताए । राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उहाँले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमीलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनको दाबी छ । – न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस