मधेशका डिप बोरिङ जडान हुने ठाउँमा चाँडो बिजुली पुर्‍याउन हितेन्द्रको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०८२, १३ : ५७
मधेशका डिप बोरिङ जडान हुने ठाउँमा चाँडो बिजुली पुर्‍याउन हितेन्द्रको निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटोभन्दा छिटो विद्युत् पहुँच पुर्‍याउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसँग छलफल गर्दै शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरूसँग समन्वय गर्दै तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिनभित्र गरिसक्न निर्देशन दिए ।

सिँचाइका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उनले प्रक्रियामा विषयमा नअल्झिन निर्देश गरेका छन् । शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सबैलाई बुझाउन जरुरी रहेको बताए । सेवा भनेर नि:शुल्क विद्युत बाँड्न नसकिने भन्दै सिँचाइ र खानेपानीका लागि सस्तोमा विद्युत उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस