म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो।
खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्याइएको हो।
समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरूले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो।
“दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प्रयासमा स्थानीयवासीका साथै खयरबाराहीमा पूजाआजा गर्न आउने अन्य ठाउँका भक्तजनले साथ दिनुभएको छ”, पुनले भने, “१० वर्षमा ६७ जनाले गर्नुभएको रु एक करोड ७० लाख सहयोगमा २७ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ।”
सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनको भनाइ छ।
भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरूलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रय स्थल र खानेपानीको व्यवस्था मिलाइएको छ।
अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गाउँमा नभएका दाताहरूले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरण खुलाएर शिलालेख राखिएको छ।
अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताए । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता रु ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिलिचो ताल जोड्ने पदमार्ग निर्माण
खोपारा जोड्ने पदमार्ग बन्यो